आगामी निर्वाचनमा जनमत पार्टी तालमेल गर्ने
टुडेपाटी–
जनकपुरधाम, जेठ २१ गते ।
डा।सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने भएको छ ।
अन्य दलहरुले गठबन्धन बनाउँदै गर्दा जनमत पार्टी पनि चुनावी तालमेल वा गठबन्धन गर्ने पक्षमा रहेको पार्टीका नेता बीपी साहले बताएका छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा आफूहरुले गठबन्धन नगर्दा अन्य दलहरुले जनमत पार्टी विरुद्ध मोर्चा बन्दी गरेर हराएको दाबी साहले गरे ।
‘स्थानीय निर्वाचनमा हाम्रो पार्टीले जित्ने स्थानहरुमा अधिकांश दलहरुले हामी विरुद्ध मोर्चा बन्दी गरेका थिए । हामी एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन सकेन ।’ नेता साहले भने,‘आगामी निर्वाचनमा हामी पनि तालमेल गरेर निर्वाचनमा जाने पक्षमा छौं । सिट अनुसारको तालमेल अथवा गठबन्धन बनाएर जान सक्छौं । दलहरुसँगको छलफल पश्चात यस विषयमा टुँगो लाग्नेछ ।’
कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरु खुल्ला रहेको नेता साहले बताए ।
Sponsored
‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी ढोका बन्द गरेका छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ ।’ नेता साहले भने ‘अहिले पाँच दलीय गठबन्धन छ, अर्को गठबन्धन बनाउने प्रयास पनि भइरहेको अवस्थामा हामी एक्लै बस्नुको औचित्य छैन ।’
मधेश केन्द्रीत दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,‘लोसपा वा जसपाको जनाधार पनि मधेशमै देखियो । हाम्रो जनाधार पनि यही क्षेत्रमा छ । उहाँहरुसँग तालमेल भए झन् राम्रो । तर, उहाँहरु कतिपय कुरामा क्लियर हुनु पर्छ ।’
आगामी निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवार चयनका विषयमा छलफल पनि अगाडि बढाइ सकेको छ । जनमत पार्टीले आगामी निर्वाचनको उम्मेदवारका लागि पनि खुल्ला आह्वान गर्ने छ । पार्टी बाहिरका योग्य व्यक्तिहरुलाई पनि टिकट दिन पार्टी खुल्ला रहेको नेता साहले बताए ।
‘जनविश्वास भएका, छवी राम्रो भएका व्यक्तिलाई जनमत पार्टीले टिकट दिनेछ ।’ नेता साहले भने, ‘स्थानीय निकायको निर्वाचन जस्तै आउँदो निर्वाचनमा पनि आर्थिक मापदण्ड तोकिनेछ । निर्वाचन आयोगले तोकेको खर्च उम्मेदवार स्वयम्ले व्यवस्था गरी प्रचारप्रसार समिति समक्ष पेस गर्नु पर्नेछ ।’
जनमत पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिँदा धेरै कुरा अनुभव गरेको जिकिर गर्दै नेता साहले आउँदो निर्वाचन जनमत पार्टीको पक्षमा हुने दाबी गरे ।