र्यापिड टेस्ट पोजेटिभ देखिएका काभ्रेका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
टुडेपाटी-
काठमाडौं, वैशाख ४ गते ।
काभ्रेका २ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएका पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ अर्थात् कारोना संक्रमण नभएको देखिएको छ ।
उनीहरुको धुलीखेल अस्पतालस्थित प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना भाइरस नरहेको (नेगेटिभ) रिपोर्ट पाइएको काभ्रे जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
आरडिटी टेस्ट पोजिटिभ देखिएपछि रोग निश्चित गर्न दुवै युवकको स्वाब (नमुना) धुलिखेल अस्पतालको प्रयोगशालामा परिक्षण गरिएको थियो । त्यस क्रममा उनीहरू कोरोना संक्रमित नभएको पुष्टि भएको हो । अहिले दुवै जना धुलीखेल अस्पतालकै आइसोलेसनमा उपचार गराइरहेका छन् ।
काभ्रेको बेथानचोक–५ का २८ वर्षीय युवक गत चैत ९ गते भारतबाट स्वदेश आएका थिए भने मण्डनदेउपुर नगरपालिक–३ का युवक गत चैत ७ गते दुबईबाट फर्किएका थिए ।
यस्तै दुई जनामा कोरोना संक्रमण देखिएको काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टबाट धुलिखेल पुगेका एक व्यक्तिमा पनि कोरोना संक्रमण नभएको पाइएको छ । एनको नमुना पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डा. झाले बताए ।