भंगहाको कार्यपालिका सदस्यका लागि मापदण्ड विपरीत एकजनाको उम्मेदवारी दर्ता
टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।
महोत्तरीको भंगहा नगरपालिकामा कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा मापदण्ड विपरित एकजनाको उम्मेदवारी दर्ता भएको छ ।
अलपसंख्यक वा दलित समुदाय कलष्टरबाट कार्यपालिका सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ । तर यी दुई कलष्टरभन्दा बाहिरका समुदायबाट एकजनाले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
अल्पसंख्यक अन्तर्गत नपर्ने धानुक समुदायका विजय मण्डलले कार्यपालिका सदस्यका लागि बुधवार उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले दर्ता गरेको हो ।
नवनिर्वाचित उपमेयर शान्ति कुमारी सिंहले धानुक जाति राजवंशी अल्पसंख्यक समुदायमा सूचिकृत भएको व्यहोरा लेखेर विजय मण्डलको नाम सिफारिस गरेकी हुन् ।
उनको सिफारिस बमोजिम मण्डलको उम्मेदवारी दर्ता तथा सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपमेयर सिंहले सिफारिस गरेको सो पत्रमा दर्ता र चलानी नम्बर समेत उल्लेख छैन् । उपमेयरको सिफारिसको आधारमा मण्डलको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत केशव अर्यालले बताए ।
Sponsored
उम्मेदवारी दर्ता गराएका मण्डल मेयरका प्रत्यासी थिए । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संजिव साहसँग पराजित भएका थिए ।