वीरगञ्ज चिनी मिल खुले म आफ्नो घर सरकारको नाममा पास गरिदिन्छु : श्रीवास्तव
टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए।
उनले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरे।
उनले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गरे।
‘यसपालीको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौ यहाँ, त्यो स्वागतयोग्य छ । त्यसका लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन्छु । उहाँलाई एउटा निवेदन पनि म गर्न चाहान्छु, यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल खुल्छ भने म त्यति सम्पन्न होइन, पैसा पनि छैन । तर यी उद्यो खुले भने मेरो नामको एउटा घर सरकारको नाममा पास गरिदिन्छु’, उनले भने, ‘त्यो घर बेचेर भए पनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि सहयोग गर्ने आज सभामा प्रतिज्ञा गर्दछु।’
Sponsored