दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला, काठमाडौं लैजाने तयारी
टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।
दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।
दुर्घटना स्थल मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा २२ जनाको शव फेला परेको हो ।
फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ ।
खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।
शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।
Sponsored
कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।
फेला परेका शवमध्ये १० वटा तल बस्तीमा झारिएको र बाँकी ल्याउने क्रम जारी रहेको एक सैनिक अधिकारीले जानकारी दिए ।
उद्धारकर्ताले भीरमा बोकेर झार्नुपर्ने भएकोले एकै खेपमा उद्धार सम्भव नभएको ती सैनिक अधिकारीको भनाइ छ ।
तल ल्याइएका शवको मुचुल्का तयार पारी शव काठमाडौं लैजाने तयारी गरेको छ ।