TodayPati

पोखरा र चितवन गरी २ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

टुडेपाटी-
पोखरा, वैशाख ३ गते ।
नेपालमा थप २ जनमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएको छ । बुधबार चितवन र पोखरा गरी २ जनामा कोरोना भाइरस र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।

चितवनको रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको जनाएको छ ।

हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए ।

Sponsored

रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १० देखि १६ सम्म विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको मंगलबार र बुधबार आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

त्यस क्रममा एक जनाको मात्र नतिजा पोजेटिभ आएको हो । सात जनाको स्वाब संकलन गरी भरतपुरको कोरोना प्रयोगशालामा पठाइएको छ ।

Sponsored

त्यसैगरी पोखरामा पनि एक ५५ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका १२ ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए ।

‘उहाँ २७ दिनअघि मात्रै दुबईबाट फर्किनुभएको रहेछ,’ शर्माले भने, ‘र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाएका छौं ।’ उनले प्रयोगशाला परीक्षणको नतिजा बिहीबार आउने जानकारी दिए ।

उनले भने पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो । ‘उहाँमा कुनै लक्षण भने देखिएको छैन । विदेशबाट फर्किएको धेरै दिन भइसकेको रहेछ ।’

पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *