बालेन काठमाडौंको मेयरमा जित्ने निश्चित, पुर्ख्यौली गाउँ महोत्तरीमा दीपावलीको तयारी
टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।
स्वतन्त्र उम्मेदवार बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी हुने निश्चित भएको छ।
दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बालेनले आगामी ५ वर्षका लागि काठमाडौं मेयर पद पक्का गरेका हुन् ।
काठमाडौं महानगरपालिकामा खसेको १ लाख ९१ हजार १२५ मतमध्ये अब १९ हजार ३२३ मत मात्रै गन्न बाँकी छ। यो अवस्थामा बालेनले ५५ हजार ७४७ मतसहित फराकिलो अग्रता बनाइरहेका छन् ।
बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेनले ३२ प्रतिशत मत पाउँदै जित पक्का गरेका हुन्। अब १९ हजार ३२३ मत गन्न बाँकी रहँदा उनले दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ३७६ मतले अग्रता बनाएका छन् ।
उता तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितभन्दा बालेनले २१ हजार १२१ मतले अग्रता बनाइरहेका छन् ।
Sponsored
यो अवस्थामै बालेनले मेयर पद पक्का गरेका हुन्। अब बाँकी रहेको १९ हजार ३२३ मत सबै सिर्जनाको पक्षमा पर्दा पनि बालेनलाई जित्न अझै १०५३ मत अपुग हुन्छ ।
अर्कातिर केशव स्थापितको पक्षमा सबै १९ हजार ३२३ मत परेमा पनि अब उनले बालेनलाई भेटाउन सक्ने छैनन् ।
यो अवस्थामा बाँकी रहेको १९ हजार ३२३ मत परेमा पनि बालेनलाई भेट्टाउन स्थापितलाई अझै १७ सय ९८ मत अपुग हुन्छ ।
सुरुदेखि नै अग्रता बनाएका बालेनलाई स्थापितले काठमाडौंको कोर एरिया पुगेपछि उछिन्ने तर्क गरेका थिए। तर कोर एरियामा पुगेपछि उनी तेस्रो स्थानमा पुगे भने सिर्जना दोस्रोमा उक्लिइन्। उता अर्का स्वतन्त्र उम्मेदवार सुमन साय्मीले पनि कोर एरियामा पुगेपछि १० हजार ३२२ भोट ल्याइसकेका छन् ।
बालेनको पुर्ख्यौली गाउँ एकडारामा दिपावली र मिठाइँ बाँड्ने तयारी
बालेन जितेको खुसीमा उनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा गाउँबासीले दिपावली गर्ने र मिठाइँ बाँड्ने तयारी गरेका छन् ।
बालेनका काका (बाजेका भाइका छोरा) सन्तोष साहले भतिजकाे जितको खुसीमा गाउँमा मिठाइ बाँड्ने र दीपावली मनाउने तयारी गरेको बताए ।
एकडारा गाउँपालिका वडा नं. १ मा बालन्द्रको पुर्ख्यौली घर छ । स्थानीय स्वर्गीय जमिन्दार मुनिलाल साह तेलीका नाति हुन् बालेन्द्र ।
जमिन्दार भएका कारण मुनिलाललाई गाउँले महाजन भन्ने गर्थे। १५ वर्षअघि मुनिलालको देहान्त भइसकेको छ।
मुनिलालका चारजना छोरा छन्। सबै छोरा घरपरिवारसहित गाउँ बाहिरै बस्छन्। दुई छोरा जनकपुर र दुई काठमाडौं लामो समयदेखि बन्दै आएका छन्। जसमध्ये एक छोरा हुन् रामनारायण साह। उनी आयुर्वेद डाक्टर हुन्।
डा.रामनारायण करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रुपमा काम गर्न गएका थिए। सोही बेलादेखि उनी उतै छन्। उतै बिहेवारी गरे।
उनका दुई छोरा छन् जेठो कौशलेन्द्र र कान्छो बालेन्द्र (बालेन)। बालेनका हजुरबुबाले अर्जेको करिब ४० बिघा जग्गा अझै गाउँमा छ, जुन उनका चारै छोराको सगोल सम्पत्ति हो ।
बालेनको पुर्ख्यौली घरमै एकडारा गाउँपालिकाको प्रशासनिक कार्यालय छ। स्थानीयका अनुसार सो घर गाउँपालिका कार्यालयलाई भाडामा दिएको छ।
स्वर्गीय मुनिलाल केही जग्गा स्थानीय गरीब सुकुम्बासीलाई पनि दिएको स्थानीय बताउँछन्। ६ महिना वर्ष दिनमा रामनारायणका परिवार गाउँ आउने गरेका छन्।