धनुषामा चार ठूला दलका जिल्ला अध्यक्ष चुनाव हारे
टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।
धनुषामा चार दलका जिल्ला अध्यक्ष चुनावमा पराजित भएका छन् ।
सबैभन्द बढी १० वटा पलिका जितेको काँग्रेसका सभापति योगेन्द्र पजियार, ३ वटा पालिका जित्ने एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, जनताका जिल्ला अध्यक्ष पशुपति यादव र माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्र यादव दीपक पराजित भएका हुन् ।
काँग्रेस सभापति योगेन्द्र पजियार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर समेत हुन् । उनी फेरि चुनाव लडेका थिए । उनलाई एमालेका उम्मेदवार सुखदेव यादवले ६१३ मत अन्तरले पराजित गरेका हुन् । सुखदेवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी पजियार ७ हजार ३ सय मात्र प्राप्त गर्न सके ।
एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव सबैला नगरपालिकामा मेयर पदमा चुनाव लडेका थिए । त्यहाँ माओवादी केन्द्रबाट कारीराम यादव ४ हजार २१२ मत ल्याएर निर्वाचित भए । कारीराम माओवादी नेता मातृका प्रसाद यादवका कान्छो भाइ हुन् ।
तेश्रो नम्बरमा एमाले सभापति राजकिशोरले ३५८१ मत ल्याएर पराजित भए । उनको मेयर पदमा यो हार देश्रो पटक हो । २०७४ को निर्वाचनमा पनि राजकिशोर सबैला नगरपालिकामै एमालेबाट मेयर पदमा चुनाव लडेका थिए । काँग्रेसले जितेको थियो भने तेश्रो स्थान ल्याएर उनी पराजित भएका थिए ।
Sponsored
धनुषामै तीनवटा पालिका जितेको जसपाका जिल्ला सभापति पशुपति यादव पनि पराजय बेहोरेका छन् । पशुपति धनुषाको कमला नगरपालिकामा मेयर पदमा चुनाव लडेका थिए । उनलाई १०२८ मतले पराजित गर्दै काँग्रेसका विशेश्वर यादव विजयी भएका छन् ।
विशेश्वरले ३८८७ मत ल्याएर विजय भयो भने उनका निकटतम प्रतिद्वन्दी पशुपति यादव २९५९ मत प्राप्त गरेर पराजित भए ।
यस्तै धनुषामा एक पालिका जितेर शाख जोगाएका माओवादी केन्द्रका धनुषा जिलला अध्यक्ष दीपक यादवलाई पनि दोश्रो पटक पराजय बेहोर्नु परेको छ । उनी धनुषाधाम नगरपालिकामा मेयर पदमा दोस्रो पटक चुनाव लडेका थिए । त्यहाँ काँग्रेसबाट पुनः मेयरमा बालेश्वर मण्डल दोह्र्याएका छन् ।
बालेश्वर ४७१८ मत ल्याएर विजयी हुँदा तेश्रो नम्बरमा दीपकले ३ हजार २५९ मतमा सिमित भए । २०७४ को निर्वाचनमा पनि उनी सोही नगरपालिकामा माओवादी केन्द्रबाटै चुनाव लड्दा पराजित भएका थिए ।