नेता रघुवीर महासेठको गृहनगरमा एमालेको ‘पत्तासाफ’
टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।
मधेशको प्रभावशाली मानिने नेकपा एमालेका नेता रघुवीर महासेठको गृह नगरमा एमालेकै पत्ता साफ भएको छ ।
एमालेका सचिव रहेका महासेठको घर रहेको धनुषाको मिथिला बिहारी नगरपालिकामा मेयरमा काँग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी भएको हो ।
काँग्रेसका राजेन्द्र प्रसाद यादव ४३०४ मत ल्याएर मेयरमा विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निवर्तमान मेयर अनिलकुमार यादवलाई २१० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्दी निवर्तमान मेयरले ४०९४ मत मात्र ल्याउन सके ।
यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शोभादेवी साह विजयी भएकी छन् ।
Sponsored
उनले ३३३० मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २७९७ मत प्राप्त गरेकी छन् ।
१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिकाको एउटा वडा समेत एमालेले जित्न सकेनन् ।
२०७४ निर्वाचनमा यो नगरपालिकामा एमालेले मेयर उपमेयरसहित केहि वडाहरु पनि जितेको थियो । यस नगरपालिकाको वडा नं. ३ मा एमाले नेता रघुवीर महासेठको पुख्र्यौली घर रहेको छ ।