सिरहामा बागी उम्मेदवारी दिएका १५ जना माओवादी केन्द्रबाट निस्कासित
टुडेपाटी-
सिरहा, बैशाख २८ गते ।
नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवारसहित १५ जनालाई कारबाही गरी पार्टीबाट निस्कासन गरेको छ ।
पार्टी निर्णयविरुद्ध सिरहाको कर्जन्हा नगरपालिको मेयर पदमा बागी उम्मेदवारी दिएका युगेश्वर राउतसहित १५ जनालाई माओवादी केन्द्रले पार्टीबाट निस्कासित गरेको हो ।
कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रले निवर्तमान मेयर गंगा पासवानलाई फेरि मेयरको उम्मेदवार बनाएपछि माओवादीका युगेश्वरप्रसाद राउतले बागी उम्मेदवारी दिएका थिए ।
बागी उम्मेदवार राउतलाई सहयोग गरेको भन्दै माओवादीले जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर, मेयरका बागी उम्मेदवार राउत, कार्यकर्ताहरु रामअवतार राई, शक्ति लामा, दिलीप नायक, रामनरेश राउत, जयराम साह, रामभरोस यादव, ओमप्रकाश महतो, केदार कोइराला, शुभनारायण महतो, चन्द्रदीप महतो, ललिता लामा, भरत महतो र श्याम लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको माओवादी मधेस प्रदेश इन्चार्ज गणेश साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि माओवादीले सिराहाको गोलबजार नगरपालिकामा मेयरका बागी उम्मेदवार रामचन्द्र महतो, उपमेयरकी उम्मेदवार बास्ना मोक्तान, वडा नम्बर ६ का अध्यक्ष उम्मेदवार कमल स्याङ्वो, प्रदेश सदस्य प्रवेश लामासहित ६ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादीले कारबाही गरेको थियो।
Sponsored