अब एमालेले अवरोध गरेपनि नागरिकताको समस्या समाधान हुन्छ : प्रचण्ड
टुडेपाटी–
जनकपुरधाम, बैशाख २४ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेकपा एमालेको अवरोधको बाबजुद नागरिकको समस्या समाधान हुने बताएका छन् । उनले एमालेका सांसदले संसद चल्न नदिएका कारणले नागरिकताको समस्या समाधान हुन नसकेको बताएका हुन्।
शनिवार धनुषाको मिथिला नगरपालिकाको बडहडी बजारमा माओवादी केन्द्र र जसपा गठबन्धनले आयोजन गरेको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले अब संसद चलेपछि एमालेले नाराबाजी गरेपनि नागरिकताको समस्या समाधान गर्ने बताए।
उनले भने, ‘एमाले गुटले नै संसद चल्न दिएको छैन्। संसदमा बहस हुन दिएको छैन् । यो नागरिकताको समस्या ढिलो भइरहेको छ। हामीले सदन खुलेपछि एमालेले माने पनि नमानेपनि नागरिकताको समस्या समाधान गर्छौ ।’
जनकपुरधाममा बा–आमाको नागरिकता भए पनि छोराछोरीको नभएको लज्जास्पद स्थिति देखा परेको उनले बताए ।
उनले भने, ‘बाउआमाको नागरिकता हुने छोराछोरीको नहुने जस्तो लज्जास्पद स्थिति यहाँ देखा परेको छ। त्यसकारण अदालतले के भन्यो, उसले भन्यो, यो मुद्धा सम्बोधन हुनैपर्छ। तर अध्यादेश ल्याएर सम्बोधन नगर, संसदको अधिवेशनभित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्नुपर्छ भन्ने अदालतको फैसला भएको हुनाले अध्यादेश ल्याएर यसलाई समाधान गर्न सकेनौं ।’
Sponsored
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मधेशी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि संघर्ष गरिरहने बताए।
प्रचण्डले मिथिला नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रामकुमार महतो र जसपाबाट उपमेयरकी उम्मेदवार मनुमाया मोक्तानको मत मागेका छन् । मिथिला नपामा माओवादी र जसपाबीच चुनावी तालमेल छ ।