कांग्रेसका बागी उम्मेदवार मनोज साहको यस्तो छ प्रतिबद्धता पत्र
टुडेपाटी–
जनकपुरधाम, बैशाख २१ गते ।
नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै स्वतन्त्र उम्मेदवार साहले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
मनोजले आफु निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरपालिका भित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता जनाएका हुन् । उनले आफ्नो प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, सार्वजनिक परिवहन, आधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गर्ने लगायतका प्रतिबद्धता जनाएका हुन् ।
जनकपुरधामको ऐतिहासीक र धार्मिक महत्वका बाह्रबिघा मैदानलाई स्वच्छ, सफा, हराभर बनाउने, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण मार्फत रमणीय ठाउँको रुपमा विकास गर्ने साहले प्रतिबद्धता पत्रमा उल्लेख गरेका हुन् ।
उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रुपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिबद्धता जनाएका हुन् ।
Sponsored
नेपाली कांग्रेसको जनकपुरधाम नगरसभापति रहेका साहले सत्ता गठबन्धनमा जनकपुरधामको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति गरेपछि साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका थिए ।