यी हुन् जनकपुरधाम उपमहानगरका प्रतिष्पर्धी उपमेयरका उम्मेदवारहरु
टुडेपाटी-
जनकपुरधाम,बैशाख १९ गते ।
स्थानीय तह निर्वाचन आउन अब ११ दिन मात्रै बाँकी छ । चुनावमा उम्मेदवारी दर्ता गराएकामध्ये जुनसुकै पालिकामा सबभन्दा बढी चर्चाका पात्र पालिका प्रमुखका उम्मेदवार छन् । यसले उप्रमुख पदका उम्मेदवारहरुको चर्चा छायामा परेको छ ।
यस्तै चर्चाको छायामा परेका छन् जनकपुरधाम उपमहानगरपालिकामा उपमेयरका उम्मेदवारहरु । अन्य पालिकाहरुमा खासगरी उपप्रमुखमा महिलाहरुको उम्मेदवारी पर्छ । तर जनकपुरधाम उपमहानगरमा ती पदमा पुरुषहरुले पनि उम्मेदवारी दिएका छन् ।
उपप्रमुख पदमा जनकपुधामको उपमेयर पदका लागि २८ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये एकजनाले उम्मेदवारी फिर्ता लिइसकेका छन् । एकजनाको उम्मेदवारी रद्द भएको छ। अहिले २६ जना उपप्रमुखका उम्मेदवार चुनावी मैदानमा छन् । जनकपुरधामा सत्ता गठबन्धनको भागबन्डामा जनता समाजवादी पार्टी (जसपा)लाई प्रमुख र उपप्रखु नेपाली कांगेसलाई परेको छ ।
गठबन्धनबाट प्रमुख उपप्रमुखमा पुरुषकै उम्मेदवारी परेको छ। कांग्रेसबाट उपप्रमुख पदमा किशोरी साह उम्मेदवार छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उपप्रमुखमा रिताकुमारी मिश्र उम्मेदवार छन् । मिश्र जनकपुरधाम उपमहानगरको निवर्तमान उपप्रमुख हुन्। २०७४ को स्थानीय निर्वाचनमा प्रमुखमा लालकिशोर साहसंगै मिश्र पनि उपप्रमुखमा विजयी भएकी थिइन् ।
यस्तै नेकपा एमालेबाट उपप्रमुख पदमा रुना झाले उम्मेदवारी दिएकी छन् ।उनी मनोनयन दर्ताको दिन एमाले प्रवेश गरेकी थिइन् । त्यस्तै जनमत पार्टीबाट उपप्रमुखमा सन्तोष साह उम्मेदवार छन् ।
Sponsored
कांग्रेस र एमालेबाट उपप्रमुख पदमा बागी उम्मेदवारी परेको छ । कांग्रेसबाट विद्रोह गर्दै व्यवसायी निर्मल चौधरीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै एमालेबाट विद्रोह गर्दै उमेश चौधरी उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट विद्रोह गरेर उपप्रमुखमा उम्मेदवारी दिएका चौधरी राराब क्याम्पसका पूर्व स्ववियु सभाति हुन् । उनी एमालेबाट मेयर पदको आकंक्षी समेत थिए । तर उपमेयर पदको टिकट समेत एमालेले नदिएपछि उनले विद्रोह गरेर उम्मेदवारी दिएका हुन् । एमाले पनि विगतमाभन्दा जनकपुरमा बलियो अवस्थामा देखिन्छ । त्यसकारण एमालेकी उपमेयरको उम्मेदवार रुना झा चुनावी प्रतिष्पर्धामै देखिन्छन् ।
जनकपुरमा उपमेयर पदमा पनि कडा प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका किशोरी साह र लोसपाकी रिता झा अहिलेसम्म बलिया उम्मेदवारको रुपमा गनिन्छन् । यधपि सत्ता गठबन्धनअन्तर्गतको कांग्रेसमा प्रमुख पद नपाएको भन्दै व्यापक असन्तुष्टि छ ।
गठबन्धनबाट प्रमुख पदका उम्मेदवार जसपाका लालकिशोर साहलाई भोट दिने मनस्थितिमा अधिकांश कांग्रेस नेता कार्यकर्ता देखिँदैनन् । यसले गठबन्धनमा अन्तरघातको डर छ । अर्कोतर्फ कांग्रेसकै बागी निर्मल चौधरी रहेकाले पनि किशोरी साहलाई जित्न चुनौती देखिन्छ ।
बागी उम्मेदवार निर्मल चौधरी मारबाडी समुदायका छन्। मारवाडी समुदायको भोट उनैलाई पर्ने भएकाले कांग्रेस उम्मेदवार किशोरीसाहलाई सकस देखिन्छ । लोसपाबाट उपमेयरकी उम्मेदवार रिताकुमारी मिश्रको अघिल्लो कार्यकालबाट जनता त्यति सन्तुष्ट देखिँदैन ।
त्यसैले गत चुनावमा उनले पाएको सहानुभूति मत पाउने सम्भावना क्षीण छ। यद्यपि लोसपा पार्टी जनकपुरमा बलियो भएकाले पनि उनी प्रतिष्पर्धामा छैनन् भन्न सकिँदैन । कांग्रेसका बागी निर्मल चौधरी पनि उपमेयरको बलिया उम्मेदवार नै रहेको चर्चा छ ।
उनी जनकपुर उद्योगा वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। मारवाडी समुदामा उनको बलियो पक्कड छ । मरावाडी समुदायको अधिकांश मत उलाई जाने सम्भावना प्रवल देखिन्छ । एमालेका बागी पूर्व स्ववियु सभापति उमेश चौधरी कलबार समुदायका छन् । कलबार समुदायको पनि जनकपुरमा राम्रो मत रहेको उनी पनि प्रतिष्पर्धामा रहने चर्चा छ । प्रभावशाली उम्मेदवारहरु उपमेयर पदमा बढी रहेकाले कसले जित्ने हार्ने अडकल गर्न भने कठिन देखिन्छ ।
यस्तो छ २०७४ को तथ्यांक
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट उपमेयर पदमा रिता कुमारी मिश्रले १७ हजार १७४ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी उपप्रमुखमा कांग्रेसकी निलम कर्णले १० हजार ६०५ प्राप्त गरेकी थिइन् ।
एमालेकी उम्मेदवार पुनमकुमारी मिश्रले ४ हजार ९७२, संघीय समाजवादी फोरमकी रिताकुमारी यादवले ४ हजार २८९, स्वतन्त्र उम्मेदवार राकेश विक्रम साहले २ कहजार ४६८ र नेकपा माओवादी केन्द्रकी अम्बिका कुमारीले २२५१ मत पाएका थिए।