जनकपुरमा काँग्रेसका विद्रोही उम्मेदवार मनोज साहको उम्मेदवारी कायमै, गठबन्धनलाई संकट
टुडेपाटी-
जनकपुरधाम, बैशाख १६ गते ।
नेपाली काँग्रेसबाट विद्रोह गरेर जनकपुरधाम उपमहानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो उम्मेदवारी यथावत् राखेका छन् ।
पार्टी सभापति शेयरबहादुर देउवाको आग्रहलाई अस्वीकार गर्दै निर्वाचन आयोगले दिएको समयसीमा सकिँदा पनि उनले आफ्नो उम्मेदवारी कायम राखेका हुन् ।
मनोनयन फिर्ता लिन निर्देशन दिए पनि साहले जानीजानी आफूले मनोनयन फिर्ता नलिएको बताए ।
साहले गठबन्धन कुनै हालतमा नस्वीकार्ने बताउँदै आएका थिए । उनले आफूले ९ वैशाखमा नै औपचारिक रूपले पार्टी परित्याग गरिसकेकाले गठबन्धनको निर्णयले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।
उनले प्रश्न गर्दै भने, ‘पार्टीले मलाई के निष्कासन गर्छ ? म यसअघि स्वयं नै पार्टीबाट राजीनामा दिइसकेको छु । त्यसैले यसले मलाई कुनै फरक पर्दैन ।’
Sponsored
सत्तारुढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आज पनि निर्देशन दिएको थियो ।
शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारहरूलाई तत्काल बोलाउने लिने निर्णय भएको थियो ।
गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको थियो ।