TodayPati

मधेश प्रदेशको कुन-कुन पालिकामा भयो चुनावी तालमेल, कहाँ कुन दलबीच ?

टुडेपाटी-
जनकपुरधा, बैशाख १४ गते ।

सत्ता गठबन्धनले महानगर उपमहानगरमा तालमेल गरेपनि मधेश प्रदेशका अधिकांश पालिकामा हुन सकेन ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंज, जनकपुरधाम उपमहानगर, बाराको जितपुर सिमरा उपमहानगर, बाराकै कलैया उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धको तालमेल भएको छ ।

Sponsored

यस्तै पालिकाहरुमा भने कतै काही मात्रै सत्ता गठबन्धनका दल भित्र चुनावी तालमेल भएको छ ।

सप्तरीको दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धन अनुसार माओवादीका केन्द्रका नेता जयप्रकाश चौधरी मेयरमा तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन साह ‘आजाद’ ले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै सप्तरीकै सुरुंगा नगरपालिकामा जसपा र माओवादी केन्द्रबीच तालमेल भएको छ । जसपाले साबिर खानलाई मेयरमा र माओवादीले जनयुद्धका घाइते कम्पनी कमाण्डर शिवकुमार रामलाई उपमेयरमा उम्मेदवारी दिन लगाएको छ ।

Sponsored

धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्र र जजसपाबीच चुनावी गठबन्धन बनेको छ । माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र माओवादीकै उपमेयरमा विमला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

तालमेल अनुसार जसपाले ११ वटा वडा मध्ये ५ वटा वडामा वडाध्यक्ष पाएका छन् । माओवादीले ६ वटा वडाध्यक्षसहित मेयर र उपमेयर पाएको हो ।जसपाले १, २, ४, ५ र ६ नम्बर वडा पाएको छ भने माओवादी केन्द्रले ३, ७, ८, ९, १० र ११ नम्बर वडा पाएको छ ।

सिरहाको लहान नगरपालिकामा मुख्य तीन दलवीच गठबन्धन बनेको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । जसअनुसार नेपाली कांग्रेसबाट प्रमुखमा महेश चौधरी र उपप्रमुखमा जसपाबाट राम चलितर महतो र चन्द्रनारायण कुशवाहले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले एक जनालाई आधिकारिक पत्र पठाएपछि एक जना पछि हट्ने सहमति भएको छ ।

यस्तै २४ वडामा जसपा–माओवादीबीच तालमेल भएको छ । जस अन्र्तगत जसपाले १४ र माओवादीले १० वडा बाँडफाँट गरेको छ ।

लाहान नगरपालिका प्रमुखमा यसअघि मुनी साह निर्वाचित भएका थिए । उनले यस पटक पनि उम्मेदवारी दिएका छन् ।

रौतहटको कटहरियामा नेकपा माओवादी केन्द्र र जसपाबीच तालमेल भएको छ । सर्लाही र महोत्तरीको सबै पालिकामा दलहरु आफ्नै तरिकाले उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज गणेश साह मधेश प्रदेशमा केन्द्रको गठबन्धनको नीति न्यून रुपमा लागू भएको बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *