जनकपुरका मेयर लालकिशोरको मनपरी : आसेपासेलाई बाँडे एक करोड रुपैयाँ, कसलाई कति ? (विवरणसहित)
टुडेपाटी-
जनकपुरधाम, बैशाख ६ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मनपरी आसेपासेलाई झण्डै एक करोड रुपैयाँ आर्थिक सहयाता वितरण गरेका छन् । कार्यविधि र मापदण्ड नबनाइ प्रत्येक वर्ष नगरसभाको एकलाईन निर्णयको आधारमा आफैले अख्तियारी लिइ आफूखुसी मनोमानी ढंगले सरकारी रकम बाँडेको खुलासा भएको छ ।
आर्थिक सहायता सम्बन्धी जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म कुनै कानुन र मापदण्ड बनाएको छैन ।
तर नगरसभाको एकलाइनको निर्णयबाट मेयर साहले आ.व. २०७५।०७६ यता आफ्नै तोकको आधारमा निकट व्यक्ति, आसोपासे तथा संघसंस्थालाई झण्डै एक करोड रुपैयाँ बाँडेको उपमहपानगरपालिका कार्यालयले पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति ‘लाई उपलब्ध गराएको सूचनामा देखिएको छ ।
टुडेपाटीका सम्पादक समेत रहेका पत्रकार क्रान्तिले सूचनाको हक प्रयोग गरी माग गरेपछि उपमहानगरपालिका कार्यालयले उपलब्ध गराएको सूचना विवरणमा यस्तो पाइएको हो ।
जसमा आ.व.२०७५।०७६ देखि गत चैत २४ गतेसम्म मेयर साहले तोककै आधारमा ९० लाख ९४ हजार ६०५ रुपैयाँ वितरण गरेको उल्लेख छ ।
Sponsored
कति व्यक्ति र संघसंस्थालाई त नगरसभाको निर्णय विपरीत ५ लाख रुपैयाँसम्म मेयर साहले बाँडेका छन् ।
आथिर्क वर्ष २०७८।०७९को नगरसभाको निर्णय अनुसार मेयरले ७५ हजारसम्म तोकेको आधारमै वितरण गर्ने व्यवस्था छ । ‘निर्णय नं. ४.१५ यस उपमहानगरपालिकाले शैक्षिक संघसंस्थालाई सहायता, धार्मिक तथा सांस्कृतिक संस्थालाई सहायता, अन्य सामाजिक सहायता र अन्य सहायताको शीर्षकबाट रु.७५०००।–(अक्षरेपी पचहतर हजार मात्र) सम्म सहायता प्रदान गर्ने अख्तियारी नगरप्रमुखलाई दिने निर्णय गरियो ।’ भन्ने व्यहोरा नगरसभाको निर्णयमा उल्लेख छ ।
त्यसै गरि अघिल्लो आर्थिक वर्षहरुमा पनि वर्षेनी नगरसभाबाट ६० हजार रुपैयाँ बाँड्ने निर्णय गरेको थियो । सो अवधिमा पनि नगरसभाकै निर्णय विपरीत ५ हजारदेखि ५ लाख रुपैयाँसम्म मेयर साहले बाँडेको तथ्यांकमा पाइएको छ ।
जस अनुसार विवरणमा आ.व.२०७५।०७६ मा जानकी नवमी महामहोत्सव मूल समारोह समिति जानकी मन्दिरलाई ५ लाख, सुर्य युवा क्लब भोइल धनुषा १ लाख ५१ हजार, सामुदायिक मेलमिलाप कार्यक्रम कुर्था २१ लाई एक लाख, राष्ट्रिय महिलासंघ धनुषा–८८ हजार २ सय रुपैयाँ आर्थिक सहायता वितरण गरेको उल्लेख छ ।
यस्तै आ.व.२०७६।०७७ मा ओरेक नेपाल संस्था ३ लाख ९८ हजार ४३८, अन्तरपार्टी महिला सञ्जाल ३ लाख १४ हजार ५६३, रामसागर सहनीलाई १ लाख ५० हजार, कुसुम देवीलाई १ लाख २५ हजार, गीतादेवी कलवारनीलाई १ लाख २५ हजार, रामनरेश यादवलाई १ लाख २५ हजार र श्रीनारायण यादव १ लाख २५ हजार रुपैयाँ , आ.व.२०७७।०७८ मा वडा नं. ८ का वडा सदस्य अनरुद कुमार साहलाई दुई लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको विवरणमा उल्लेख छ ।
आर्थिक सहायता वितरण गरिए पनि व्यक्तिको नाम ठेगाना, आर्थिक सहायताको प्रयोजन भने गोप्य राखिएको छ ।
मेयर साहले कतिपय व्यक्ति र संस्थालाई कमिसन लिएर नै आर्थिक सहायता बाँडेकाले भण्डाफोर हुने डरले प्रयोजन र व्यक्तिको ठेगाना गोप्य राखिएको कार्यालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
साढे चारवर्षमा हालसम्म ऐन कानुन र मापण्दण्डा नबनाइ आर्थिक सहायता मेयर साहले वितरण गर्नुको कारण मनपरी नै रहेको ती कर्मचारीको भनाइ छ ।
‘कार्यविधि बनाउँदा यसरी मनपरी बाँड्न पाउनु हुन्न्थ्यो । यसरी त जसाई दिएपनि के फरक । बिना औचित्य कतिपय व्यक्ति र संस्थासंग कमिसन लिएर पनि आर्थिक सहायता वितरण गर्नु भएको छ । यसमा त कार्यविधि बाधक हुन्थ्यो नि’, ती कर्मचारीले भने ।
जनकबपुरधाम उपमहानगरपालिका कार्यालयले नियमविपरीत जथाभावी आर्थिक सहायता बाँडेको कुरा महालेखा परीक्षक २०७८ को प्रतिवेदनमा पनि औंल्याइएको छ ।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा पालिकालाई तोकिएको कार्यक्षेत्रमा आर्थिक सहायता तथा कार्यक्रमगत सहयोग दिने उल्लेख छैन । तर यस पालिकाले आन्तरिक चालू तथा नेपाल सरकारको चालू खर्च शीर्षकबाट बिरामीको प्रमाण राखी विभिन्न व्यक्तिलाई औषधी उपचार सहायता वापत पर्व पूजा जात्रा, छट, तीज कार्यक्रम, विद्यालय बालविकास, खेलकुद कार्यक्रम र अन्य विभिन्न संघ तथा संस्थालाई विभिन्न सामाग्री, खाजा, खाना, खाद्य सामाग्री, खेलकुद सामाग्री खरिद गरेका बिल र मागको आधारमा खर्चको सुनिश्चितता नहुने गरी आर्थिक सहायतामा खर्च गरेको छ’ महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक सहायता वितरण खर्चको प्रमाणित बिल वेगर भुक्तानी गर्दा खरिद गरिएका सामानको दुरुपयोग हुने वास्तविक कार्यक्रममा खर्च नभई व्यक्ति विशेषलाई फाइदा पुग्ने र भुक्तानी रकम वास्तविक खर्च हो भनि यकिन गर्न सक्ने अवस्था नभएको हुँदा यस्तो खर्चमा नियन्त्रण गर्न पनि मलेपा प्रतिवेदनले जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई सुझाव दिएको छ । जस अन्तर्गत प्रतिवेदनले ७९ लाख ७२ हजार ३६७ रुपैयाँ बेरुजु पनि ठहर्याएको छ ।
आर्थिक सहायता वितरणमा मेयर साहले अनियमितता गरेको वडा नं. ९ का वडाध्यक्ष प्रमेश्वर साहको आरोप छ । ‘आवश्यक्त र औचित्य भन्दा आफ्ना आसेपासेलाई मेयर साहले मनपरी पैसा बाँड्नु भएको छ । थुप्रै संग कमिसन नै लिनु भएको सुनेको छु’ वडाध्यक्ष साहले आरोप लगाउँदै भने ।
जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण अझै बाँकी नै छ । यसरी नै मेयर साहले विभिन्न शीर्षकमा अनियमितता गर्दा कर्मचारीहरु लेखापरीक्षण गर्न नमानेको कार्यालय श्रोतको दावी छ ।
यता उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्याय मेयरले नियम विपरीता आर्थिक सहायता बाँडेको विषयमा अनभिज्ञता प्रकट गरे ।
‘नगरसभाको निर्णय कानुन सरह नै रहेकाले सोही अनुसार मेयर साहले आर्थिक सहायता बाँड्नु भएको छ । नियम विपरीत नै वितरण गनृु भएको विषयमा मलाई जानकारी छैन । यदि त्यस्तो गर्नु भएको छ भने बेरुजु आइहाल्छ,’,उनले भने ।
उनले नगरसभाको निर्णयलाई कार्यविधि बनाएर व्यवस्थित गर्दा उपयुक्त हुने कुरा स्वीकार गरे । आफू आएको बेलादेखि एउटा पनि नगरसभा नभएको र एउटा मात्र कार्यपालिका बैठक भएकाले कार्यविधि बनाउन नसकेको उनको भनाइ छ ।
यता मेयर साहले नगरसभाकै निर्णय अनुसार आर्थिक सहायता वितरण गरेको स्वीकार गर्दै यस विषयमा थप केहि बोल्न मानेनन् ।
कसले कति लिए ? विवरण तल हेर्नुहोस्–