मधेश प्रदेश : जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेसमा प्रवेश
टुडेपाटी–
जनकपुरधाम, बैशाख ६ गते ।
आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
जिल्लाको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादवले मंगलबार कांग्रेसको राजविराजस्थित कार्यालयमा पुगेर कांग्रेस प्रवेश गरेका हुन् ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित यादव जसपामा आबद्ध थिए । उनी जसपाका प्रदेश समिति सदस्य थिए ।
कांग्रेसको केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले यादवलाई पार्टी प्रवेश गराए ।
त्यस्तै अध्यक्ष सँगै वडा नं. ३ का वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाअध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुदर्शन सिंह समेत कांग्रेसमा प्रवेश गरेका हुन् ।
Sponsored