जनमत पार्टीले बाँड्यो ११० पालिका प्रमुख र उपप्रमुखको टिकट
टुडेपाटी-
जनकपुरधाम, बैशाख ५ गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले पालिका प्रमुख र उपप्रमुखलाई टिकट वितरण गरेको छ ।
सोमबार जनकपुरधामस्थित जनमत पार्टीको सचिवालयको कार्यालयमा मधेस प्रदेशका १ सय १० पालिकाका प्रमुख र उपप्रमुख टुंग्याएको छ ।
मुलुकभरकै करिब ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको हो ।
टुंगो लागेका पालिका प्रमुख र उपप्रमुखका उम्मेदवारको आकंक्षीलाई जनमत पार्टीले टिकट समेत वितरण गरेको छ ।
विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहेपनि एकढिक्का भएर उत्साह साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरुको नाम टुंगो लागेको जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिए ।
Sponsored
सबै पालिकाको उम्मेदवारहरूको चयन प्रक्रिया समाप्त भएपछि औपचारीकरुपमै सार्वजनिक गर्नका लागि आन्तरिक गृहकार्य थालिएको महासचिव सिंहले बताए ।
उनले मधेश प्रदेशको एक महानगर, तीन उपमहानगर र पालिकाहरुको सर्वसम्मतरुपमै टुंगो लागेको समेत बताए ।
उनले मधेश प्रदेश, प्रदेश नम्बर १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही पालिकामा समेत जनमत पार्टीको तर्फबाट उम्मेदवार उठाउने स्पष्ट पारे । उनले कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्ने योजना नरहेको बताए ।