सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती गर्ने सरकारको निर्णय
टुडेपाटी–
काठमाडौँ, बैशाख ५ गते ।
पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको हो ।
गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । ।
सरकारले चालु आर्थिक वर्षका लागि इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय गरेको हो ।
इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत कटौती गर्नुपर्ने अर्थ मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।
Sponsored
सोमबार जारी गरिएको उक्त सूचनामा भने निर्माण विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि लागू नहुने जनाइएको छ ।
ऐनबाट इन्धन सुविधा पाइरहेका पदाधिकारीहरुलाई इन्धन सुविधा २० प्रतिशतले कटौती गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारको यो निर्णय आगामी असार मसान्तसम्म लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।