TodayPati

आठ लाख घुस काण्डमा मुछिएका पालिका अध्यक्षलाई पुनः उम्मेदवार बनाएपछि एमाले भित्र चर्को विवाद

टुडेपाटी-
जनकपुरधाम, बैशाख ३ गते ।

धनुषाको बटेश्वर गाउँपालिकामा अध्यक्ष पदमा पुनः डम्बर बहादुर राउत क्षेत्रीलाई उम्मेदवार बनाउने सिफारिसपछि नेकपा एमाले भित्र विवाद चुलिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत एमालेले गत सोमबार बटेश्वर गाउँपालिकाको अध्यक्ष पदका लागि पुनः क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Sponsored

एकतर्फी निर्णय र कलंकित व्यक्तिलाई नै पुनः उम्मेदवारा सिफारिस गरेको भन्दै पार्टीमा व्यापक असन्तुष्टि छ ।
आठ लाख घुस काण्डमा मुछिएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाउ नहुने विषयमा विवाद चुलिएपछि शुक्रबार बैठक बोलाइएको थियो ।
बैठकमा निर्णय विरुद्ध नेताकार्यकर्ताले सो निर्णको चर्को विरोध गरेको एक सचिवालय सदस्यले बताए ।

त्यसपछि उम्मेदवार सिफारिस निर्णय सच्यान पुनः बैठक आइतबार बोलाउने निर्णय गरिएको ती नेताले बताए ।
आठ लाख रुपैयाँ घुस काण्डमा मुछिएका क्षेत्री वर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।

बैठकमा घुस काण्डमा परेदेखि एमाले पार्टीमाथि जनतामा नकरात्मक असर परेकाले क्षेत्री बाहेकका नयाँ अनुहारलाई पालिका अध्यक्षको उम्मेदवार हुनु पर्ने नेताकार्यकर्ताको माग थियो ।

Sponsored

‘आठ लाख घुस काण्डमा परेदेखि उहाँ कलंकित हुनुहुन्छ । जसको कारण एमाले पार्टीप्रति पनि जनतामा नकरात्मक प्रभाव परेको छ । त्यस कारण क्षेत्री बाहेकका नयाँ अनुहार चाहिन्छ’ अर्का सचिवालय सदस्यले भने ‘बैठकमा चर्को माग उठेपछि अगामी आइतबारका लागि उम्मेदवार सिफारिसको लागि पालिका भरिकै नेताकार्यकर्ताको बैठक बोलाइएको छ’


एमालेमा उम्मेदवारीका लागि हिरालाल महतो, श्याम महतो, दिलिप लामा, राम पुकार महतोलगायत दावेदार छन् ।
क्षेत्रीले २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग ८ लाख रुपैयाँ घुस लिएका थिए ।
धनुषाको महेन्द्रनगरमा ठेकेदारबाट घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय (टंगाल) को टोलीले पछयाएपछि उक्त रकम औरही खोला छेउमा फालेर भागेका थिए । केही रकम उनी सवार गाउँपालिकाको सरकारी गाडीबाट र केही झाडीबाट अख्तियारले बरामद गरेको थियो ।

अख्तियारले घुस रकमसहित अध्यक्ष क्षेत्री सवार गाडीका चालक वीर बहादुर मगरलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले सो घटना प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको थियो । अख्तियार कार्यालयका अनुसार अध्यक्ष राउत र चालक मगर धरौटीमा छुटेका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको संरक्षण र राउतको आफ्नै कर्मचारीतन्त्रमा भएको पकडका कारण उनी कानुनी कारबाहीबाट बच्न सफल भएका हुन् ।

प्रमाण नपुगेको भन्दै अख्तियार उनीमाथि मुद्दा दायर गर्न पन्छिदै आएको छ । सो घुसकाण्डबारे थप अनुसन्धान जारी रहेको अख्तियारको कार्यालयले जनाएको छ ।

उनी घुस फालेर फरार भएको तीन महिनापछि गत जेठ २८ गते अख्तियार कार्यालयमा हाजिर भएर त्यतिबेला पार्टीबाट उपप्रधामन्त्री रहेका रघुवीर महासेठसँगै बटेश्वर आएका थिए । एमालेका स्थानीय नेता÷कार्यकर्ताले युद्ध जितेर आएजस्तो गरी उनलाई भव्य स्वागतसहित गाउँपालिका कार्यालयमा हाजिर गराएका थिए ।

पछिल्लो समय पनि गाउँपालिकामा उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखाअधिकृत सुमन पुरीलाई आफ्नो प्रभावमा पारेर मोटो कमिसनमा व्यापक अनियमितता गरेको आरोप छ ।

उनले गाउँपालिकाकै एक एकल महिलालाई असभ्य शब्द प्रयोग गरेको घटनाले समेत उनी विवादमा परेका थिए । पछि एमालेले पीडितकी छोरालाई मनाएर घटना थामथुम पारेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *