उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग गर्दै सर्वोच्च पुग्यो निर्वाचन आयोग
टुडेपाटी–
काठमाडौं, चैत ३० गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्था कामय राख्न माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत पुगेका छन् ।
जनप्रतिनिधिले स्थानीय तहको चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।
आयोगले उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेकोमा सर्वोच्चले उक्त प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
आयोगले उक्त अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै महान्याधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो ।
न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइको पेसी परेको हो । अहिले निवेदनमाथि सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
Sponsored
निर्वाचन आचारसंहिताको उक्त प्रावधानलाई हटाउन माग गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट हालेका थिए । चैत ८ गते उक्त रिटमा सर्वोच्चले आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।