मधेश प्रदेश : ८ लाख घुस फालेर भागेका गाउँपालिका अध्यक्षलाई एमालेले बनायो उम्मेदवार
टुडेपाटी-
जनकपुरधाम, चैत २९ गते ।
आठ लाख रुपैयाँ घुस फालेर फरार भएका गाउँपालिका अध्यक्षलाई नेकपा एमालेले सर्वसम्मत पुनः उम्मेदवार बनाएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीलाई एमालले पुनः गाउँपालिका अध्यक्षको उम्मेदवारको लागि सिफारिस गरेको छ हो ।
सोमवार बसेको एमाले गाउँ कमिटीको बैठकले क्षेत्रीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
समाजिक समिकरण र राजनैतिक चतुर्याइका कारण विभिन्न भ्रष्टाचार काण्डमा मुछिएपनि उनी पुनः अध्यक्षको उम्मेदवार बन्न सफल भएका हुुन् ।
अध्यक्षको उम्मेदवारका लागि हिरालाल महतो, श्याम महतो, दिलिप लामा, राम पुकार महतो लगायतले दावी गरेपनि गाउँपालिका सचिवालयको बहुमत सदस्य क्षेत्रीलाई नै अध्यक्ष बनाउनुपर्ने मत राखेपछि बाँकी दाबेदारहरु पछि हटेका थिए ।
Sponsored
१७ फागुन २०७७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएवापत ठेकेदारसँग उनले ८ लाख रकम घुस लिएका थिए । धनुषाको महेन्द्रनगरमा ठेकेदारबाट घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले पछयाएपछि सो रकम औरही खोला छेउमा फालेर फरार भएका थिए ।
अख्तियारले घुस रकम सहित अध्यक्ष क्षेत्री सवार गाडीका चालक वीर बहादुर मगरलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले सोको विषयमा प्रेस विज्ञप्ती जारी गरी जनाएको थियो । राजनीतिक पहुँचकै कारण अख्तियारले प्रमाण नपुगेको भन्दै गाउँपालिका अध्यक्ष क्षेत्रीमाथि भ्रष्टाचार मुद्दा दायर गर्न पन्छिदै आएको छ । घटनाको एक वर्ष बढी समय बित्दा पनि सो घुसकाण्डबारे थप अनुसन्धान जारी रहेको अख्तियारको कार्यालयले जनाएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको संरक्षण र राउतको आफ्नै कर्मचारीतन्त्रमा भएको पकडका कारण उनी कानुनी जन्जिरबाट उम्किन सफल भएका हुन् ।
उनी घुस फालेर फरार भएको तीन महिना पश्चात गत जेठ २८ गते अख्तियारमा हाजिर भएर सो बेलाका उपप्रधामन्त्री रघुवीर महासेठसँगै बटेश्वर आएका थिए । एमालेका स्थानीय नेताकार्यकर्ताले युद्ध जितेर आएको शैलीमा उनलाई भव्य स्वागत गर्दै गाउँपालिका कार्यालयमा हाजिर गराएका थिए।
गाउँपलिकामा गएको साढे चार वर्षयता उनको नेतृत्वमा कयौँ योजनामा आर्थिक अनियमितता भएको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो समय उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखाअधिकृत सुमन पुरीलाई आफ्नो प्रभावमा लिएर मोटो कमिसनको सेटिंगमा गोप्य टेन्डर र कोटेशन मार्फत एउटै कम्पनीलाई दर्जन बढी योजनाको काम दिने गरेको समेत खुलेको थियो ।
दुई साताअघि मतदाता रिझाउन उनले गाउँपालिका कार्यालयको ४० लाख बजेटमा फाइवर सिरक खरिद गरी ७४८ जना जेष्ठ नागरिकलाई वितरण गरेका थिए । गर्मीमा सिरक वितरण गरेपछि अध्यक्ष क्षेत्रीको निकै आलोचना भएको थियो । बजारमा ३५ सयको दरले पाइने फाइबर सिरक पालिका अध्यक्षकै सेटिंगमा ५ हजार रुपैयाँ भन्दा बढीको दरले खरिद गरेको कार्यालय श्रोतले जनाएको छ ।
त्यति मात्र होइन गाउँपालिकाकै एक एकल महिलालाई असभ्य शब्द प्रयोग गर्दै अपमान गरेपछि समेत उनी विवादमा तानिएका थिए । पछि एमालेले सो घटना पीडितकी छोरालाई मिलाएर थामथुम पारेको थियो ।