मधेश प्रदेशमा बस्न सकेन गठबन्धनको बैठक
टुडेपाटी–
जनकपुरधाम, चैत २८ गते ।
मधेश प्रदेशमा सत्तागठबन्धनको बैठक बस्न सकेको छैन् ।
स्थानीय तहको निर्वाचनका लागि विभिन्न प्रदेशमा तालमेलका लागि सत्तारुढ गठबन्धनको बैठक भइरहेको छ । तर, मधेश प्रदेशमा भने गठबन्धन दलको प्रदेशस्तरीय बैठक बस्न सकेको छैन ।
एक साता अघि मधेश प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधाम स्थित नेपाली काँग्रेसको मधेश प्रदेश कार्यालयमा बैठक बसेको थियो । सो बैठकबाट २२ गते सम्ममा आ–आफ्नो पार्टीको पालिका कमिटी देखि जिल्ला कमिटीसँग आ–आफ्नो संगठनको अवस्था बारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर आज पनि बैठक बस्न सकेको छैन ।
गठबन्धनको बैठकका लागि अगुवाई गरेका कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवले पहलकदमी नलिँदा बैठक हुन नसकेको गठबन्धनका घटक दलहरूको भनाइ छ ।
गठबन्धनका घटक दल नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले विभिन्न जिल्लामा गठबन्धन दलवीचको बैठक हुन बाँकी रहेकाले आइतवार भनिएको बैठक हुन नसकेको बताए ।
Sponsored
अध्यक्ष बुढाथोकीले अधिकांश जिल्लामा गठबन्धनको बैठक बस्न नसकेकाले आजको बैठक नबसेको बताए ।
जिल्लास्तरमै गठबन्धनको बैठक बस्न नसकेपछि प्रदेशस्तरको गठबन्धनको बैठक अन्योलमा परेको छ ।
सत्ताघटक दल जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बैठकका लागि काँग्रेसले अहिलेसम्म अन्य दलसँग छलफल नगरेको बताए । उनले बैठक बोलाउने जिम्मा काँग्रेसको रहेकोमा आज बैठक बस्न नसकेको बताए ।