जनकपुर प्रादेशिक अस्पतालमा अनियमितता : हजार रुपैयाँ पर्ने झोला ४ हजार बढीको दरले खरिद
शैलेन्द्र क्रान्ति-
जकपुरधाम, चैत २६ गते ।
जनकपुरधाम प्रादेशिक अस्पतालमा औषधी तथा उपकरण खरिदमा अनियमितता भएको पाइएको छ । निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.प्रमोद यादव पदमुक्त हुनु २/३ दिनपूर्व नै बिगतमा खरिद भएको औषधी, स्वास्थय उपकरण लगायतका सामानको बाँकी बक्यौता झण्डै ८ करोड रुपैयाँ भुक्तानी गरिएको छ । बजार भाउभन्दा बढी मूल्यको समान खरिद गर्नुका साथै फर्जी बिल समेत खडा गरी रकम भुक्तानी गरिएको स्रोतको दावी छ ।
प्रादेशिक अस्पताल मधेश स्वास्थय विज्ञान प्रतिष्ठानको स्वामित्वमा गइसकेको छ । प्रादेशिक अस्पताल हस्तान्तरणसहित मेसुबाट पदमुक्तको लागि समाजिक विकास मन्त्रालयले यादवलाई गत चैत ६ गते पत्र लेखेको थियो । उनले मन्त्रालयबाट पदमुक्त हुन पत्र आउने सुइको पाएपछि विभिन्न कारणले लामोसमयदेखि स्थगनमा परेका औषधि उपकरण लगायत सरसमान खरिदका ७ करोड ९४ लाख ३५ हजार ६४४ रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।
जसमा बजारमा पाइने भन्दा चारगुणा बढी मूल्यमा खरिद गरिएको समानको भुक्तानी फाइल एक वर्षदेखि अडकेको थियो । केही खरिदै नै नभएका समानको पनि फर्जी बिल खडा गरेर लाखौं रुपैयाँ भुक्तानी गरेको समेत खुलेको छ ।
कार्यालय स्रोतका अनुसार काठमाडौंको गुगल सर्जिकललाई शव राख्ने झोला र अन्य औषधि उपकरण खरिद बापत अस्पतालले झण्डै ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । स्टोर शाखाका कर्मचारी धिरेन्द्र मण्डलका अनुसार गत वर्ष कोभिड–१९ को दोश्रो लहरमा अढाई सय वटा शव राख्ने झोला अस्पतालले खरिद गरेको थियो । बजारमा १ हजारमा पाइने सो झोला अस्पतालले सोझै खरिद गरेको थियो ।
कर्मचारी स्रोतका अनुसार बजारमा एक हजारको दरमा पाइने शव राख्ने झोला गुगल सर्जिकलबाट ४ हजारदेखि ४७ सयसम्मका दरले खरिद गरिएको छ । झोलासँगै औषधी उपकरण गरी झण्डै ६० लाखको बिल पेश गरिएको थियो । वास्तविक मूल्यभन्दा बढी दरमा खरिद गरिएको बिल पेश गरेपछि गुगुल सर्जिकललाई भुक्तानी गर्न मेसु यादव इन्कार गर्दै आएका थिए । तर पदमुक्त गर्न लागेको सुइको पाउनसाथ उनले सो भुक्तानी गरेका हुन् ।
Sponsored
‘पदमुक्त हुने बेलामा रातारात मोटो कमिसनको सेटिंगमा गुगल सर्जिकलको झण्डै ४० लाख रुपैयाँ भुक्तानी गरेका छन्’ ती कर्मचारीले नाम नखुलाउने शर्तमा भने ।
अस्पतालका तत्कालिन स्टोर प्रमुख धिरेन्द्र मण्डलले कोभिडको बेला अढाई सय शव राख्ने झोला र अन्य औषधि उपकरण गरी गुगल सर्जिकलबाट ३७ लाख बराबरको खरिद भएको बताए । उनले कोभिडको बेलामा शव झोलाको मूल्य ४ हजारदेखि माथि नै रहेको बताए । तर, अहिले बजारमा झोला अनुसार १५ सयसम्मा समेत पाउने गरेको मण्डलको भनाइ छ ।
निवर्तमान मेसु यादवले कोभिडको दोश्रो लहरको बेला गुगल सर्जिकलबाट झोला लगायत औषधि खरिद गरिएकाले सोही बमोजिम भुक्तानी गरेको दावी गरे ।
‘अहिले र त्यति बेला झोलाको मूल्यमा धेरै अन्तर छ । त्यति बेला अहिले दुई रुपैयाँमा पाइने मास्क २० रुपैयाँमा पाउँथ्यो । अहिले २ रुपैयाँमा पाइन्छ । त्यसमा मैले कुनै चलखेल गरेको छैन’ उनले भने ।
यस्तै जनकपुर सर्जिकलबाट समान नै नलिइ कोटेशनमा औषधि खरिद गरेर १० लाखको बिल लिएर भुक्तानी गरेको पनि अस्पतालकै ती कर्मचारीले बताए । पछि औषधि लिने भन्दै पहिला नै १० लाख रुपैयाँ सो सर्जिकलको नाममा भुक्तानी गरेको अस्पताल स्रोतको भनाइ छ । सो सर्जिकलका संचालक भैरब राउत भने प्रादेशिक अस्पतालकै हालको स्टोर प्रमुख हुन् ।
राउतसंग यो विषयमा बुझ्न खोज्दा आफ्नी श्रीमतको नाममा जनकपुर सर्जिकल रहेको स्वीकारे । त्यसबाट मात्र ३।४ लाखको औषधि खरिद भएको जवाफ दिए । झण्डै १० लाख रुपैयाँ कसरी भुक्तानी लिनु भयो ? ‘एकवर्ष अघि नै औषधि खरिद गरिएको थियो त्यसकै भुक्तानी दिइएको हो,’ उनले भने ।
मेसु यादवले भने जनकपुर सर्जिकल भैरव राउतको विषयमा अनभिज्ञता प्रकट गरे । तर जनकपुर सर्जिकलको भुक्तानी खरिद गरिएकै औषधिको बिल अनुसारको भएको उनको दावी छ ।
कार्यालय स्रोतका अनुसार डा. यादव नै मेसु नियुक्त भएर आएपछि स्टोर प्रमुखको जिम्मेबारीमा मण्डललाई हटाएर भैरव राउतलाई राखेका थिए ।
यस्ता अन्य पनि सामान फर्जी बिल र लामोसमयदेखि अडकेको बिलको भुक्तानी गरेको आंशका गरिएको छ । पदमुक्त हुने देखेपछि लामोसमयदेखि पेन्डिङमा रहेको खरिद योजनाका फाइलको कमिसन आउने दाउमा नै धमाधमम लेखा अधिकृत रविन झासंग मिलेर झण्डै ८ करोडको चेक काटेको अस्पताल स्रोतको दावी छ ।
प्रतिष्ठानको स्वामित्वमा गइसकेको प्रादेशिक अस्पतालमा अव निर्देशक नियुक्त हुने छ । मेसुको पद अब प्रादेशिक अस्पतालबाट हटेको छ ।
अनियमितताको सुइको पाएपछि मधेश विज्ञान प्रतिष्ठानले पनि आन्तरिक खोजविन सुरु गरेको छ । यादव पदमुक्त हुँदा समेत हालसम्म बरबुझारथ गरेका छैनन् । दुईपटक लेखा डा. यादव र लेखा अधिकृत झालाई बरबुझारथको लागि पत्र काट्दा समेत वेवास्ता गरिरहेको प्रतिष्ठानका कुलपति डा. रामकेवल साहले बताए ।
‘डा. यादव र लेखा अधिकृत झालाई पटक पटक लिखित र मौखिक ताकेता गरिएको छ । तर हालसम्म वास्ता गरिरहेका छैन । तर आग्रह हामीले गरि नै राखेका छौं’ कुलपति साहले भने ‘मैले पनि आर्थिक अनियमितताको विषयमा सुनिरहेको छ । धेरै भुक्तानी एकैपटक गर्यो रे । तर बरबुझारथ गरेपछि यो विषयमा म केही भन्छु ।’
प्रतिष्ठानले आन्तरिक लेखापरीक्षण सुरु गरेको छ । मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई कागजात र भौतिक रुपमा पनि सरसमान हेरेर लेखा परीक्षण प्रतिष्ठानले गराइरहेको छ ।
यता निवर्तमान मेसु यादवले आफ्नो कार्यकालको लामोसमयदेखि बाँकी रहेका भुक्तानी पदमुक्त हुनु पहिले नै गरिदिन ८ करोडको चेक काटेको दावी गरे । यसअघि पनि एकै दिनमा अस्पतालकै स्वास्थय उपकरण खरिदको १० करोड रुपैयाँ भुक्तानी गरेको रेकर्ड अस्पतालमा रहेको तर्क गरे ।
‘विभिन्न औषधि उपकरण खरिद तथा कोभिड कालमा खरिद गरेको औषधि उपकरणको भुक्तानी बाँकी थियो । आफू जानु अघि नै भुक्तानी गरिदिनु पर्छ भन्ने मनन गरेर नै यस्तो गरेको हुँ’ उनले भने ‘तर कसैसंग एक रुपैयाँ पनि भुक्तानी बापत कमिसन लिएको छैन । फर्जी बिल लिएर भुक्तानी गरेको छैन । यदि छ भने सम्बन्धित निकायले छानविन गरोस् । कारबाहीको भोग्न तयार छु ।,
यादवलाई समाजिक विकास मन्त्रालयले गएको १० गते मेसुबाट पदमुक्त गरेको थियो । उनले पदमुक्त हुनु अघि नै औपचारिक रुपमा नै प्रतिष्ठानलाई सबै थोक हस्तान्तरण गर्न चाहेपनि मुख्यमन्त्रीले समय नदिँदा नभएको बताए ।