जनकपुर-जयनगर रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा, बल्ल गुड्ने भयो रेल
टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।
बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे सेवा नियमित संचालनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शनिवार) भारतको नयाँ दिल्ली स्थित हदराबाद भवनबाट दुई देशका प्रधानमन्त्री संयुक्त रुपमा झण्डा हल्लाएर जनकपुर जयनगर रेल्वेको समुदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
उदघाटन पश्चात भोलिदेखि नियमित जनकपुर जयनगर रेल यात्रुसहित नियमित सञ्चालनमा आउन लागेको हो । शुक्रबार भारत भ्रमणमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीले १२ बजेर २० मिनेटमा संयुक्त रुपमा भर्चुअल मार्फत बटन थिचेर तथा झण्डा हल्लाएर रेलको समुदघाटन गर्ने कार्यक्रम रहेको छ ।
रेल समुदघाटनको लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनलाई सजाइएको छ । दुबै स्टेशनमा भर्चुअल विधिबाट हुने उदघाटन हेर्न प्रोजेक्टर लगाइएको छ भने पण्डालसहित अन्य सरसज्जा गरिएको छ । उदघाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए ।
उदघाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिनेछन् । द्वय प्रधानमन्त्रीले झण्डा हल्लाएपछि रेल गुड्ने छ । विद्यार्थीहरुले पनि झण्डा हल्लाउने छन् । जयनगरबाट जनकपुरको लागि रेल गुड्ने रेलछ । यो रेल प्रत्येक स्टेशनमा रोकिने छ।
जनकपुर रेल्वे स्टेशनमा सो अवसरमा विशेष कार्यक्रम राखिएको छ । शनिवारको कार्यक्रमलाई केन्द्रित गर्दै संघीय सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव समेत जनकपुर आइपुगेकी छन् । जनकपुर रेल्वे स्टेशनमा रेल आएपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेशनसम्म पुग्ने छिन् ।
फर्किने बेला फेरि पुरानो स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने छ।
भोलि उदघाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् ।
Sponsored
उदघाटन पश्चात जनकपुरधामको कुर्थास्टेशन देखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ ।
शनिवार देखि सुरु हुन लागेको कुर्था–जयनगर सम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि समान्य सिटका लागि रु ९० र अनुकुलित सिट र सुविधा तर्फ ४ सय ५० रुपैया टिकट कायम गरिएको छ ।
जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ७० कायम गरिएको छ । लामो समय पश्चात रेल्वे चल्ने भएपछि स्थानीयबासी खुसी भएका छन् ।
उद्घाटन नहुँदा जनकपुर जयनगर रेल फागुन महिनाभर दिनमा एकपटक यात्रु बिनै जनकपुरबाट जयनगर ‘ड्रायरन’ गरेको थियो।
चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ।
रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन। केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन्।
रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् । पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएको महाप्रबन्धक झाले बताए ।
२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो।