जनकपुर जयनगर रेल उद्घाटनको लागि स्टेशन सजाइँदै
टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।
अगामी चैत १९ गते (शनिबार) देखि जयनगर जनकपुर रेल संचालनको लागि तिव्रगतिमा तयारी हुँदै छ ।
जनकपुर रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा प्रोजेक्टर जडानसहित सजाउने कार्य भइरहेको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल विधिबाट रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भारत शुक्रबार भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले दिल्ली स्थित हैदराबादबाट शनिबार दिउँसो १२ बजे नेपाली र भारतीय झण्डा हल्लाएर संयुक्त रुपमा रेलको उदघाटन गर्ने रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा प्रोजेक्टरसहितको कार्यक्रम गरिने छ। जनकपुर रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसहित सहभागी हुने छन्।
Sponsored
महाप्रबन्धक झाका अनुसार शनिबार दिउँसो साढे १२ बजे दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएर उद्घाटन गर्नेछन् । उदघाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिनेछन् । द्वय प्रधानमन्त्रीले झण्डा हल्लाएपछि रेल गुड्ने छ । विद्यार्थीहरुले पनि झण्डा हल्लाउने छन् । जयनगरबाट जनकपुरको लागि रेल गुड्ने रेलछ । यो रेल प्रत्येक स्टेशनमा रोकिने छ।
त्यस दिन यात्रुले निःशुल्क चढ्न पाउने छन् । जनकपुरको पहिलाको रेल्वे स्टेसनबाट चढेर मन्त्री यादवसहित जनकपुरधामको कुर्था स्टेशन पुग्ने छन्।
फर्किने बेला फेरि पुरानो स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने छ।
त्यस दिनबाट जनकपुर(जयनगर रेल नियमित संचालन हुने छ। रेलले जनकपुरधामको व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा फड्को मार्ने विश्वास लिइएको छ।
उद्घाटन नहुँदा जनकपुर जयनगर रेल फागुन महिनाभर दिनमा एकपटक यात्रु बिहान जनकपुरबाट जयनगर ‘ड्रायरन’ गरेको थियो।
चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ।
रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन। केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन्।
‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ। कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्ु, उनले भने।
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ। ०७७ असोज २ गते भारतीय कोंकण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो।
रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिब १५ सय यात्रु बोक्ने क्षमताका छन्।
जनकपुर–कुर्था–जयनगरको यात्रा गर्दा यातायात व्यवस्था कार्यालयले नै निर्धारण गरेको भाडा दर अनुसार समान्य सिटमा प्रतियात्रु ९० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको जनाएको छ।