गर्मीमा नागरिकलाई कम्बल वितरण गर्दै बटेश्वर गाउँपालिका
टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।
अगामी स्थानीय चुनावको अब ४४ दिन मात्र बाँकी छ । तराई मधेशमा गर्मीसंगै चुनावी सरगर्मी समेत बढ्दै छ ।
मानिसहरु गर्मी छल्न कुलर, पंखा, एसी जस्ता विद्युतीय समान किनिरहेका छन् । यस्तो बेला धनुषाको बटेश्वर गाउँपालिकाका जनप्रतिनिधि मतदाता रिझाउन भने कम्बल वितरण गरिरहेका छन् ।
मंगलबार गाउँपालिकाले पाँचवटै वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । चुनावको मुखमा मतदातालाई प्रभावित गर्न आठ लाख घुस काण्डमा फँसेका गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री कम्बल वितरण गरेको स्थानीयले बताएका छन् ।
कम्बल वितरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष प्रमिला देवी महतो लगायत पाँचवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहभागि भएका छन् ।
जाडोमै बाँड्नु पर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले आएर गाउँपालिका अध्यक्षले वितरण गरेको एक जनप्रतिनिधिले बताए ।
Sponsored
यद्यपी कम्बल वितरणको बजेट भने गाउँपालिका कार्यालयले गोप्य राखेको छ । पछिल्लो समय बटेश्वर गाउँपालिका भ्रष्टाचारको अहालमा डुबेको छ ।
आठ लाख घुस काण्डमा परेका गाउँपालिका अध्यक्ष राउतलाई अझैसम्म अख्तियार दुरुपायोग अनुसन्धान आयोगले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता गरेको छैन ।