जनकपुरधामको मेयर बन्नका लागि यी हुन् विभिन्न दलका आकांक्षी
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, चैत १० गते ।
अगामी स्थानीय तहको निर्वाचन हुन ५० दिन बाँकी रहँदा मधेशमा चुनावी सरगर्मी बढेको छ । पालिकाहरुमा हरेक दलबाट उम्मेदवारको चर्चा सुरु भएको छ । नेताहरुले आ–आफ्ना दलहरुमा टिकटका लागि लबिंग समेत थालि सकेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पालिकाको अधिकार, बजेट, कार्यक्षेत्र लगायतका विषयमा नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई खासै जानकारी थिएन । तर गत पाँच वर्षको अवधिमा जनप्रतिनिधिको अधिकार, बजेट र कार्यक्षेत्रबारे थाहा पाएपछि चुनाव नलड्ने निश्चय गरेकाले पनि नेतृत्वकालागि आकांक्षा प्रकट गरिरहेका छन् ।
अकांक्षीले आ–आफ्ना पार्टीमा टिकटका लागि हानथाप गरिरहेका छन् । आवद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि नेतृत्वको चाहनाले दल परिवर्तन गर्ने होड समेत सुरु भइसकेको छ । दलहरुले पनि आन्तरिक रुपमा वडाध्यक्षदेखि पालिका उपप्रमुख तथा प्रमुखलाई टिकट वितरणका लागि छलफल थालिसकेका छन् ।
मधेश प्रदेशमा एक महानगरपालिका र ३ उपमहागरपालिका छन् । जसमा जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशको राजधानी पर्दछ । २०७४ को निर्वाचनमा यस उपमहानगरपालिकामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयरमा जित निकालेको थियो । महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो । पछि विभाजन हुँदा राजेन्द्र महतोको कित्ता छाडेर उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे । उपमेयर रीता कुमारी झा भने ठाकुर–महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन् ।
जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदको टिकटका लागि जसपा, लोसपा, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका प्रमुख दलहरुका स्थानीयदेखि प्रदेश स्तरका नेताहरुले केन्द्रमा लविंग गरिरहेका छन् । ती प्रमुख दलहरुबाट मेयरका लागि दजर्नौ आकांक्षी छन् । जनकपुरधाममा काँग्रेस, लोसपा र जसपा बलियो छ । हुन त अघिल्लो मतपरिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल थियो । तर विभाजित भएपछि उसको शक्ति क्षिण भएको छ । यद्यपी जनमतको हिसाबले दुबै दल प्रतिष्पर्धी हुन् । जसपाको विभाजन र एन्टी इनकमबेन्सीले काँग्रेस बलियो अवस्थामा छ । त्यस पश्चात मात्रै क्रमशः एमाले, माओवादी, एकीकृत समाजवादीको जनआधार देखिन्छ ।
जसपाबाट तीनजना आकंक्षी
Sponsored
वर्तमान मेयर लालकिशोर साह फेरि चुनाव लड्ने मनस्थितिमा छन् । जसपाबाटै उनले पुनः मेयर पदको उम्मेदवार बन्ने चर्चा छ । गत चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरमबाट मेयरका प्रत्यासी र हालका जसपाका जनकपुरधाम नगर अध्यक्ष विष्णुदेव साह पनि अगामी स्थानीय चुनावका लागि मेयरका आकंक्षी छन् । तर मेयर लालकिशोर पुनः सोही पदमा टिकट दिने आश्वासन दिएपछि जसपा रोजेको बताइन्छ । उनको दाबेदारीले विष्णुदेव मौन देखिन्छन् । तर मेयरको उम्मेदवारको लागि आफ्नो दावी स्वभाविक रहेको उनको भनाइ छ । ‘म विगतमा पनि मेयर पदको उम्मेदवार थिएँ । मेयर लालकिशोर साह हाम्रो दलमै बसेपछि उहाँलाई हरहमेसा सहयोग गर्नु नगर अध्यक्षको हिसाबले मेरो कर्तव्य हो । तर यसपटक मेयर पदको उम्मेदवारकालागि जसपाबाट मेरो नाम पहिलो नम्बरमा छ’ उनले भने ‘तर पार्टीले जसलाई टिकट दिन्छ म स्वीकार गरेर उसैलाई सहयोग गर्छु । त्यस्तै जसपाबाटै बजरंग यादवले पनि मेयदर पदको उम्मेदवारका आकांक्षी छन् । उनले आफू पनि मेयर पदको उम्मेदवारको आकक्षी रहेको बताए ।
काँग्रेसबाट फेरि मनोज र वजरंग साहको दाबेदारी
अघिल्लो स्थानीय तहको चुनावमा काँग्रेसका प्रत्यासी मनोज साह लालकिशोरका निकटतम प्रतिद्वन्दी थिए । उनी यसपाली फेरि मेयर पदका दावेदार हुन् । साह काँग्रेसमा नेता बिमलेन्द्र निधि निकट मानिन्छन् । त्यसैगरि जनकपुरधामकै पूर्व मेयर वजरजंग प्रसाद साहको नाम पनि मेयरका लागि चर्चामा छ । वजरंग प्रसाद साह शेखर कोइरा निकट् हुन् ।
धनुषामा पार्टी भित्र निधिको बर्चस्व छ । हालै सम्पन्न काँग्रेस धनुषाको जिल्ला अधिवेशनमा निधि समूहले शेखर कोइराला पक्षसंग मिलेर संस्थापन पक्षका उम्मदेवारहरुलाई पराजित गर्दै जिल्ला सभापतिसहित कार्यसमितिमा वर्चस्व कायम गरेको छ । यसले निधिले चाहेकै नेता पुनः मेयर पदका लागि टिकट पाउने प्रबल सम्भावना छ । यी दुबैजना काँग्रेसबाट जनकपुरधामका लागि सम्भावित उम्मेदवार रहेको पार्टीका नेताहरु बताउँछन् । यी दुईजना बाहेक पनि काँग्रेसभित्र मेयरको टिकटका लागि अकांक्षी छन् । काँग्रेसका जनकपुर उपस्थिति युवा नेता राकेश विक्रम साहपनि मेयर पदका दावेदार देखिन्छन् । उनले अब युवाले अवसर पाउनु पर्ने बताउँछन् । २०७४ को स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवार थिए । दुई हजारभन्दा बढी मत उनले ल्याएका थिए ।
लोसपाबाट यी हुन् दाबेदार
लोसपाबाट मेयरको टिकटका लागि चारजनाको नाम बढी चर्चामा छ । धनुषा निर्वाचन क्षेत्र नं. ३ ख जनकपुर क्षेत्रबाटै तत्कालिन राजपाबाट चुनाव जितेका प्रदेशसभा सदस्य पमेश्वर साह सुडी, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झा, लोसपाको जनकपुरधाम नगर अध्यक्ष मनोज चौधरी र वडा नं. ७ का अध्यक्ष जानकीराम साहको मेयर पदको उम्मेदवारका आकंक्षी छन् । लोसपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद साहले आफुलाई मेयरमा चुनाव लड्न पार्टीभित्र नेताकार्यकर्ताको दवाव रहेको बताए । पार्टीले निर्णय गरेपछि मात्र प्रदेश सांसद पदबाट राजिनामा दिएर चुनाव लड्ने उनको भनाइ छ ।
एमालेबाट हिरा साहको चर्चा
नेकपा एमालेबाट मेयरको टिकटका लागि नेता शिव शंकर साह हिरा खुलेर चर्चामा छ । उनी जनकपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । अहिले उनी उद्योग बाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष छन् । हिरा भन्छन् ‘यदि पार्टीले मलाई अवसर दिए जनकपुरधामको नेतृत्व सम्हाल्नका लागि ईच्छुक छु ।’
हिराका अतिरिक्त एमालेबाट उमेश चौधरी समेत मेयर पदका लागि अकांक्षी देखिएका छन् । चौधरी जनकपुर रा.रा.ब. क्याम्पसको पूर्व स्ववियु सभापति तथा पूर्व त्रिवि सभासद् छन् ।
माओवादी, समाजवादी र जनमतका उम्मेदवारको छैन चर्चा
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबाट हालसम्म कुनै पनि उम्मेदवारको चर्चा राजनीतिक वृतमा देखिँदैन । यद्यपी यी दल भित्र पनि आकंक्षीहरु रहेको ती दलका नेताहरुको भनाइ छ । तर जनकपुरधाममा पछिल्लो चुनावलाई आधारमा यी दलहरुको जनाधार कमजोर रहेकाले पनि बलिया उम्मेदवारको खोजीमा यी दलहरु रहेको छ ।
यता माओवादी केन्द्र धनुषाका सचिव दीपक यादवले पार्टी भित्र अकांक्षीहरु छन् तर पार्टी भित्र छलफल गरेर मात्रै तिनीहरुको नाम सार्वजनिक गरिने बताए ।