विद्यालयमा भीडको आक्रमणबाट महिला प्रहरीको मृत्यु, कर्फ्यु लगाइयो
टुडेपाटी-
मोरङ, चैत ७ गते ।
मोरङमा भीडको आक्रमणबाट एक महिला प्रहरी जवानको मृत्यु भएको छ ।
प्रहरीजवानको मृत्यु पश्चात मोरङको लेटाङमा स्थानीय प्रशासनले आज बिहान ७ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ।
आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको विषयमा झडप भएको थियो ।
त्यहाँ सुरक्षाका लागि खटाइएका प्रहरी जवान श्रेष्ठमाथि भीडले आक्रमण गरेको थियो ।
Sponsored
घटनामा मोरङका एसपी जनार्दन जिसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।
थप अप्रिय घटना हुन नदिन अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङ वडा नं. ४, ५ र ६ मा कर्फ्यु लगाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
घाइतेहरुलाई उपचारार्थ कोसी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए।
आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको उनले बताए ।