जसपा देशकै ठूलो बैकल्पिक पार्टी : कृषि मन्त्री यादव
एसपी यादव-
सर्लाही, चैत ४ गते ।
संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जसपा देशकै ठूलो बैकल्पिक पार्टी रहेको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपाका) केन्द्रिय नेता समेत रहेका मन्त्री यादवले जनअधिकार प्राप्ति, रक्षा, जनताको विकास र समृद्धिको लागि निर्माण भएको देशकै ठुलो बैकल्पिक पार्टी भएको उनले बताएका हुन् ।
होली पर्वको अवसरमा शुक्रबार सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. १, २ र वडा नं. ७ ले मोहनगंजमा जसपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तोकिएकै मितिमा स्थानीय तहको चुनाव समेत सम्पन्न हुने बताए ।
उनले चुनावका लागि तत्काल तयारीमा जुट्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टी एकढिका भएर चुनावमा होमिएको समेत उनले बताए ।
मलखादको समस्या अन्तर्राष्ट्रिय समस्या भएको बताउदै उनले रासायनिक मल आपूर्तिका लागि नेपाल सरकार र भारत सरकारबीच आगामी पाँच वर्षका लागि समझदारी पत्र हस्ताक्षर भइसकेको र थप प्रक्रियालाई मन्त्रालयले प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ ।
Sponsored
मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता जसपा नेता सुनिल साहले गरेका थिए । कार्यक्रममा मधेशप्रदेशका पुर्व उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं। २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।