TodayPati

मिथिला परिक्रमा आज कञ्चनवनमा, भंगहामा सार्वजनिक विदा

टुडेपाटी-
महोत्तरी, फागुन २६ गते ।

मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा आठौं दिन आज (बिहीबार) महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्दै छ ।

Sponsored

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।

परिक्रमा यात्री तीर्थालुहरुलाई प्रमुख अतिथिको रुपमा लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ट नेता सरतसिंह भण्डारी, विशिष्ट अतिथि मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्वागत गर्ने कार्यक्रम रहेको छ । रंग, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले बताए । होली मिलन समारोहमा लोसपा नेतृ निर्जला राउत लगायत, गण्यमान्य व्यक्तित्वहरुको सहभागित रहने जनाएको छ ।

परिक्रमा यात्रीलाई स्वागत गर्न भंगहा नगरपालिकाले आजलाई सार्वजनिक विदा घोषणा गरेको छ । आज परिक्रमा यात्री तीर्थालुहरु कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव साहले जानकारी दिए ।

Sponsored

कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आज पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने छन् ।

तिर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचालाई सरसफाई गरी चिटिक्क पारिएको छ ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।

कञ्चनवनमा परिक्रमा यात्रीको लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने गरेको चलन रहेको छ ।

घरमा भोजनको विभिन्न परिकार बनाएर आफ्नो परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्ने गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *