सप्तरीमा स्थानीय तहका चुनावको चहलपहल शुरु
शुभ नारायण यादव–
सप्तरी, फागुन २० गते ।
सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने घोषणासँगै सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ ।
स्थानीयस्तरमा नेकपा (माओवादी केन्द्र)का क्रियाकलाप बढ्नुको साथै अध्यक्ष र उपाध्यक्ष पदका सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको लर्कोसँगै चुनावी चहलपहल बढेको हो ।
चुनावी चहल पहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नम्बर १ सोनरामा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत धोषणा गरियो । सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्धता माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर) ले ब्यक्त गरे ।
त्यसैगरी प्रदेश सदस्य महेश प्रसाद यादवले माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चितता रहेकोले सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी बढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको बताए ।
गाउँपालिका अन्तर्गतका बिभिन्न ब्यक्तिहरुले अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरुले आफुलाई योग्य उम्मेदवार भएको दाबी प्रस्तुत गर्न थालेका छन् । स्थानीय सरकारको नेतृत्व गर्न दिपेन्द्र माझी, देवराम यादव, मनोज यादव, कृष्ण चन्द्र मण्डल(वौवा), कृष्णदेव मण्डल, सुरेन्द्र यादव, मो सकुर, वेजु कामैत, फरेवी सदा अध्यक्ष पदका आकांक्षी रहेका छन् ।
Sponsored
यसैगरी उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता कुमारी यादव, पर्मिला यादव, सविता कुमारी मण्डल, उर्मिला देवी यादवले दाबी प्रस्तुत गरेकी छिन् । चुनावको मिति नजिकिदै जाँदा स्थानीयस्तरमा निर्वाचनको तयारीका लागि बैठक, सभा र कार्यक्रमहरुलाई बाक्लो बनाउने छलफल भएको छ । सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।
गाउँपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन अहिलेदेखि नै कसरत भईरहेको स्थानीय माओवादी केन्द्रले बताएका छन् ।