TodayPati

मिथिलाको महाकुम्भ मिथिला मध्यमा परिक्रमा सुरु

टुडेपाटी-
जनकपुरधाम, फागुन १९ ।

मिथिलाको महाकुम्भको रुपमा मानिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। बिहिवार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित रहेको मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमाको सुरुवात भएको छ ।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ । मिथिला महात्माका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ ।

Sponsored

नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतको विभिन्न स्थानमा श्रद्धालुहरु पुग्नेछन् । बिहिवार कचुरीबाट निस्केको परिक्रमा यात्रीहरु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगि विश्राम गर्नेछन् ।

फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर शुक्रवार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ ।
नेपालको धार्मिक ऐतिहासिक ठाँउहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ। जसलाई मिथिला माध्यमा परिक्रमा भन्ने गरिन्छ ।

पछिल्लो दुई वर्षदेखि कोरोना भाइरसको कारण मिथिला मध्यमा परिक्रमा प्रभावित हुँदै आएको थियो ।

Sponsored

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ।

पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थलहुँदै १४ औं दिनमा जनकपुरधाम पुग्नेछ। परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *