स्थानीय तहको चुनावमा एमालेसँग गठबन्धन हुनसक्छ : महन्थ ठाकुर
टुडेपाटी–
जनकपुरधाम, फागुन १७ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने बताएका छन् ।
जनकपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले अबको केही महिनामा हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने बताएका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका दलले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोसपा नेपालले भने ओलीलाई समर्थन गर्दै करिब तीन साताका लागि सरकारमा सहभागी भएको थियो । त्यसैबेलादेखि लोसपाको एमालेसँगको सम्बन्ध सुमधुर रहँदै आएको छ ।
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन देखि प्रदेशसभा तथा प्रतिनिधिसभासम्म तालमेल हुन सक्ने ठाकुरको भनाइ छ ।
एमालेसँग आफुहरुको त्यस्तो कुनै असन्तुष्टि नरहेको भन्दै अध्यक्ष ठाकुरले आउँदो स्थानीय तहको निर्वाचनका लागि छलफल हुने बताए । उनले भने, ‘सबै ठाउँमा नभएपनि स्थानीय स्तरमा गठबन्धन गर्न सकिन्छ । अहिले भने हाम्रो कसैसँग कुनै पनि गठबन्धन भएको छैन ।’
Sponsored