नेपाली कांग्रेस धनुषाको अधिवेशन फागुन २३ गते गर्ने निर्णय
विजय साह–
जनकपुरधाम, फागुन १३ गते ।
नेपाली कांग्रेस धनुषा कार्यसमितिले पार्टीको जिल्ला अधिवेशन फागुन २३ गते गर्ने निर्णय गरेको छ ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा बिहिवार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २३ गते गर्ने निर्णय गरेको हो ।
मधेस प्रदेशलगायत अधिवेशन हुन बाँकी रहेको १६ जिल्लाको अधिवेशन मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक फागुन १५ गते हुन भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारीसहित पत्र पार्टीको केन्द्रीय कार्यसमितिल पठाएको छ ।
केन्द्रले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न समय अनुकूल नमिलेका कारण जिल्ला कार्यसमितिले पार्टीको जिल्ला अधिवेशन गर्न आफ्नै मिति तय गरेको नेपाली काँग्रेस धनुषा कार्यसमितिका कोषाध्यक्ष राजलाल महतोले बताए ।
प्रतिनिधि सभासदस्यहरु एमसिसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी जानुहुने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी परिक्रमा प्रारम्भ हुने हुँदा जिल्ला अधिवेशन सारिएको उनले जानकारी दिए ।
Sponsored
जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दावी विरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
जिल्लामा सभापती पदका लागि वर्तमान जिल्ला उपसभापती सन्तोष यादव, क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र संविधानसभा सदस्य दिनेश प्रसैलाले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।