सप्तरीको सप्तकोसी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी
शुभ नारायण यादव–
सप्तरी, फागुन ५ गते ।
सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यालयमा चार राजनीतिक दलले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले ६ बुँदे माग राख्दै नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेको हो ।
उनीहरुले आव २०७८/०७९ का नगरभित्रका तथा सम्पूर्ण, ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, महालेखा नियन्त्रकको कार्यालयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगर सभाबाट पारित कानुनी कार्यवाही सम्बन्धी निर्णयको विवरण उपलब्ध गराउनु पर्ने लगायतका माग सहित तालाबन्दी गरेका छन् ।
त्यस्तै कोभिड १९ को खर्च सम्बन्धमा यस अघि नेपाली कांग्रेसबाट गरिएको विवरण तथा चालु आवमा भएको कोभिड लगायत विपत व्यवस्थापन सम्बन्धी कार्य सोको खर्च विवरण उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।
Sponsored