उत्पीडितहरुको मुक्ति जसपाको मुल राजनीतिक उद्देश्य : उपेन्द्र यादव
टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उत्पीडितहरुको मुक्तिको सबाल नै जसपाको मुल राजनीतिक उद्देश्य रहेको बताएका छन् ।
धनुषाको धनौजी गापा बहुअर्वामा आज आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सदियौंदेखी विभेदमा रहदै आएको मधेशी, महिला, दलित, जनजाति, मुस्लिम लगायतका समुदायको मुक्तिका लागी आफुहरु शुरु देखी नै लडदै आएको र आफु राजनीतिक उद्देश्य समेत त्यही रहेको बताए ।
पहिचान लाई केन्द्रमा राखेर भएको मधेश जनविद्रोहले एक हद सम्म मधेशी आदिवासी जनजाति महिला मुस्लिम लगायतका समुदायलाई पहिचान दिलाउन सफल भए पनि आर्थिक , राजनीतिक र समाािजक अधिकारका लागी अझै लडन बाँकी रहेको उनको भनाइ छ ।
अध्यक्ष यादवले मधेश प्रदेशको नामाकरण संगै मधेशी जनताले पहिचान प्राप्त गरे पनि मधेश प्रदेशमा समेटन नसकिएका मधेशीहरुको पहिचानको लागी मेची देखी महाकाली सम्म आन्दोलन जारी राख्ने उदघोष गर्दै अध्यक्ष यादवले त्यसका लागी मधेश प्रदेशका नागरिकले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने बताए ।
पहिचानको आधारमा मधेश प्रदेश नामाकरण भएपछि अन्य प्रदेशमा समेत पहिचानवादीहरु उत्साहित भएको उल्लेख गर्दै अध्यक्ष यादवले अन्य प्रदेश समेत पहिचानको मुद्दाले तरंगित भएको बताए ।
Sponsored
संघीय लोकतान्त्रिक गणतन्त्रका साथै उत्पीडित समुदायको लागी लडदै आएको जसपा माथि निरन्तर आक्रमणको प्रयास जारी रहेको दावी गर्दै अध्यक्ष यादवले गणतन्त्र र संघीयता विरोधी त्यस्ता शक्तिको सामना गर्न मधेशी जनजाति लगायतका उत्पिडित समुदाय तयार रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले यथा स्थितिवादी दलहरुका कारण मुलुक पछाडी परेको उल्लेख गर्दै मुलुकको अग्रगामी निकासको लागि जसपा एक मात्र राजनीतिक शक्ति रहेको दावी गरे ।
मधेश जनविद्रोहले उत्पिडित समुदायको पहिचान स्थापित गराएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मधेश सरकार उत्पिडित समुदायलाई मुलधारमा ल्याउन एक पछि अर्को प्रयास गर्दै आएको बताए ।