भोलिदेखि जनकपुर-जयनगर रेल गुड्ने, तर यात्रु चढ्न नपाउने
टुडेपाटी-
जनकपुरधाम, माघ २९ गते ।
जनकपुर- जयनगर रेल भोलिदेखि रेल सञ्चालन हुने भएको छ ।
उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न रेल चलाउन लागिएको हो ।
तत्कालका लागि यात्रुबिनाको रेल चलाउन लागिएको र त्यसको लागि रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
भोलिदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ ।
अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । गेट म्यान कर्मचारी भोलि बिहानैबाट काममा खटिने झाले बताए ।
६० नेपाली र १४ भारतीय कर्मचारी भोलिदेखि काममा खटिनेछन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ ।
Sponsored
जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।
०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो ।
अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।