TodayPati

२८ करोड राजस्व छली गरेको मुद्दामा पक्राउ परेका उमाशंकर रायभर जेलमुक्त

टुडेपाटी–
काठमाडौँ, माघ १६ गते ।

राजस्व छली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर जेल मुक्त भएका छन् । आइतवार उनी करिब ११ महिनापछि जेलबाट मुक्त भएका हुन् ।

पाटन उच्च अदालतले राजस्व छली मुद्दामा तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर बन्दी जीवन बिताएका रायभरलाई सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि रिहा भएका हुन् ।

Sponsored

प्रहरीले उनलाई नख्खु कारागारबाट केही बेरअघि हत्कडी लगाएर उच्च अदालत पाटनमा ल्याएको थियो । उच्च अदालतले नख्खु कारागारलाई उमाशंकरलाई छुटाउनका लागि भन्दै पत्र काटेको थियो । तारेक बुझेपछि उनी छुटेका हुन् ।

सर्लाही घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका सरोजकुमार मिश्रले जागिर लगाइदिने प्रलोभन देखाई रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छलेका थिए ।

ब्लुक्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख रुपैयाँ र जेएन सप्लायर्समार्फत १२ करोड ३ लाख रुपैयाँ छलेको अभियोग रायभरमाथि राजस्व अनुसन्धान विभागले लगाएको थियो ।

Sponsored

विभागले गरेको छानबिनमा मिश्रले अरू युवाको समेत कागजात दुरुपयोग गरी ९ वटा कम्पनी खोलेर एक अर्ब चार करोड रुपैयाँ राजस्व छली गरेको देखिएको थियो ।

रायभरले आफ्ना कागजात र हस्ताक्षर दुरुपयोग भएको बताए पनि उच्च अदालतले गत वर्ष फागुन १९ मा उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो ।

त्यस आदेशको विरुद्ध सर्वोच्च अदालत पुगेका रायभरलाई शुक्रबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार रुपैयाँ मात्र धरौटी स्वरूप माग गर्ने आदेश गरेको थियो ।

रायभरका तर्फबाट निःशुल्क रुपमा अधिवक्ताहरू राधिका खतिवडा, टीकाराम भट्टराई, सुनील पोखरेल, जनार्दन बन्जाडे र अन्जना अर्यालले बहस–पैरवी गरिदिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *