आज १९ पदका लागि राष्ट्रिय सभा निर्वाचन हुँदै, मधेश प्रदेशको जनकपुरमा
टुडेपाटी-
जनकपुरधाम, माघ १२ गते ।
राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि आज चुनाव हुँदै छ।
सातवटै प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरु हुने र दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि सातै प्रदेशमा ८ मतदानस्थलअन्तर्गत १४ मतदान केन्द्र व्यवस्था गरिएको छ। मधेश प्रदेशको मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण निधी सांस्कृतिक प्रतिष्ठान भवनमा रहेका छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल २ हजार २५ जना मतदाता सहभागी हुँदै छन् । जसमा स्थानीय तहका प्रमुख।प्रमुख १ हजार ४९३ र प्रदेश सभाका सदस्य ५३२ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछन्।
राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत १२ दलले उम्मेदवार उठाएका छन् ।
Sponsored
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन्।
सत्ता गठबन्धनका ५ दलले १९ पद भागबन्डा गरेर उम्मेदवारी दिएका छन् भने एमाले मधेश प्रदेश १ बाहके एक्लैले १८ पदमा उम्मेदवारी दिएको छ। मधेश प्रदेशमा एमालेले लोसपासंग गठबन्धन बनाएको छ ।
अन्य दलले भने सबै प्रदेशमा उम्मेदवारी दिएका छैनन्।
रिक्त १९ पदका लागि ४३ जना चुनावी मैदानमा छन्।
निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्या र ७ जना अन्य समूहका उम्मेदवार राष्ट्रिय सभाको सदस्य चुनिनेछन्।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि सकिँदै छ।
जसमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र कांग्रेसका ३ सांसद छन्। यसमा आजको निर्वाचनले प्रदेश १ बाट ३, मधेस प्रदेशबाट २ , बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ जना चुन्नेछ।