हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई कारबाहीको माग गर्दै जनकपुरमा युवा संघको प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा प्रदर्शन गरेको छ ।
हिंसमक अभिव्यक्ति दिने जसपा नेतृ समेत रहेकी मन्त्री यादवलाई तत्कालै बर्खास्त गरी कानुनी कारबाही गर्न माग गर्दै युवासंघका नेता कार्यकर्ताले शुक्रबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।
यूवा संघ धनुषाको आयोजनामा निस्केको जुलुस जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेको हो । नेताकार्यकर्ताले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिदैन’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।
पदीय मर्यादा विपरीत हिंसात्मक अभिव्यक्ति दिएकाले उनलाई तत्कालै पदमुक्त गरी कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी समेत युवासंले दिएको छ ।
गएको बुधबार बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पुनः गौर नरसंहार दोहरिने र जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या समेत हुने चेतावनी दिएकी थिइन् ।
Sponsored
पदीय मर्यादा विपरीत दिएको सो हिंसात्मक अभिव्यक्तिलाई लिएर उनको चौतर्फी आलोचना भइरहेको छ । उनलाई तत्कालै बर्खास्त गरी कारबाही गर्नुपर्ने र २०६४ मा भएको गौर नरसंहार घटनाका दोषीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने माग जोडतोडले उठेको छ । यसले यादवको मन्त्री पद समेत धरापमा परेको छ ।