TodayPati

सामाजिक दूरीको धज्जी उडाउँदै जनकपुरमा दिनहुंँ ‘हाटबजार’

टुडेपाटी-

जनकपुरधाम, चैत २४ गते ।

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा पनि बढ्नसक्ने खतरालाई लक्षित गर्दै नेपाल सरकारले देश नै लकडाउन गरेको छ ।

Sponsored

सरकारले लकडाउन गर्नुको पछाडी कोरोना संक्रमण बढ्न नदिन सामाजिक दुरी कायम गराउनु हो । यद्यपि यसका साथै कयौं स्थानमा लकडाउनको उल्लंघन त भई नै रहेको छ त्यसमाथी सामाजिक दुरीको समेत धज्जी उडाइएको पाइएको हो ।

जसको प्रत्यक्ष उदाहरण स्वरुप जनकपुरधामस्थित रेल्वे स्टेशनमा लाग्ने हाट बजारलाई लिन सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका-१ स्थित रेल्वे स्टेशन छेउमा हरेक दिन बिहान अहिलेपनि तरकारी बजार लाग्छ । तरकारी किन्न हुलका हुल मानिस त्यहाँ पुग्छन् । प्रहरी त्यहीँ उभिएको हुन्छ । तर लकडाउनको कुनै मापदण्ड पालना गरिँदैन ।

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुध्न साहसँग बुझ्न खोज्दा उनले तरकारी बजार व्यवस्थित गर्न प्रयास गरेपनि हालसम्म सफल हुन नसकेको बताए । उनले तरकारी बजारमा दूरी कायम हुन नसकेको स्वीकार गरे । ‘तरकारी जरुरी छ । तर आवश्यक दूरी बनाएर बजार व्यवस्थित गर्नुपर्ने हामीले पनि महसुस गरेका छौं,’ साहले भने, ‘प्रहरीलाई भनेका छौं, दूरी कायम गर्न सकिएन भने तरकारी बजार बन्द गरे हुन्छ ।’

Sponsored

जनकपुरधाम उपमहानगरपालिका-२४ मा पर्ने बसहियाको परिवेश अझै ग्रामीण क्षेत्रजस्तै छ । बसहियाका अधिकांश स्थानीयहरु अझैपनि लकडाउन र सामाजिक दूरीबारे अनभिज्ञ छन् । बसहियामा लाग्ने हाटमा सयौं मानिस एकै ठाउँमा जम्मा भएर किनमेल गर्छन् । त्यो भीडभाड न त स्थानीय प्रशासनले रोक्न सकेको न जनप्रनिधिले नै लकडाउन पालन गर्न स्थानीयलाई सम्झाउन सकेका छन् । बेलाबखतमा प्रहरी पुगेर लकडाउन कार्यान्वयन गराएको जस्तो देखाए पनि कडाई भने गर्न सकेको छैन ।

चियापसल, हाटबजारमा हुलका हुल मानिस जम्मा हुँदा पनि स्थानीय प्रशासनले कडाइ गर्न नसकेको बसहियाका स्थानीय संतोष कर्ण बताउँछन् । सामाजिक दुरी र लकडाउन कार्यान्वयन गराउन जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसकेको उनको आरोप छ ।

जनकपुरधाम उपमहानगरपालिका-२४ का वडाध्यक्ष सत्यनारायण साह आफ्नो वडामा लकडाउन कार्यान्वयन हुन नसकेको स्वीकार गर्छन् । ‘हामीले प्रयास गरेका छौं, सम्झाइ बुझाइ गरिरहेका छौं तर कार्यान्वयन हुन सकेको छैन,’ साहले भने, ‘बजार हाटमा भीड रोक्न नसकिए कोरोना संक्रमण जोखिम बढ्ने निश्चित छ ।’

कोरोनाको संक्रमण रोक्न सामाजिक दूरी बाहेक अन्य कुनै विकल्प नरहेको चिकित्सकले बताइ रहँदा अझै यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *