TodayPati

प्रदेश २ : आजको मतदानबाट ‘जनकपुरधाम’ राजधानी हुने निश्चित जस्तै, नाममा शंका

टुडेपाटी-
जनकपुरधाम, माघ ३ गते ।

प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लगाउन प्रदेशसभामा आज हुन लागेको मतदानबाट राजधानी जनकपुरधाम प्रस्ताव पास हुने सम्भावना बढेको छ ।

प्रदेशसभामा राजधानीका तीन र नामका चार प्रस्ताव पेश भएको हो । ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ रहेको छ। यस्तै, राजधानीको लागि जनकपुरधाम र वीरगञ्जको दुई वटा प्रस्ताव पेश भएको छ।

Sponsored

जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्ताव सबै दलका साझा प्रस्ताव रहेको छ। उत्तरमा धनुषा ढल्केवरको पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र भित्रको सम्पूर्ण भूभाग ‘जनकपुरधाम’ राजधानी हुने प्रस्तावमा उल्लेख छ।

दोस्रो, राजधानीको प्रस्तावमा ‘वीरगञ्ज’ रहेको छ। जसपाका सांसद सिंगासन साह कल्वार रहेका छन् । यसमा पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग समेटिएको छ।

तेस्रो प्रस्ताव वीरगञ्जमा वीरगञ्ज महानगरपालिका भरिको भूभाग रहेको छ। जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् ।
नाम र राजकानीका प्रस्ताव पास गर्न हाल प्रदेशसभामा कायम प्रदेशसभा सदस्यको दुई तिहाइ बहुमत चाहिन्छ । त्यस कारण जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्ताव सबै दलको साझा प्रस्ताव भएकाले पास हुने सांसदहरुले दावी गरेका छन् । राजधानी पास हुने प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले बताए ।

Sponsored

यस्तै चार नाम प्रस्ताव मध्ये ‘मधेश प्रदेश’ नाम पनि दुई तिहाइ बहुमतले पास हुने प्रवल सम्भावना रहेको मन्त्री साहले दावी गरे । मधेश प्रदेश नाम सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र सत्ता घटक नेकपा (माओवादी केन्द्र)को संयुक्त प्रस्ताव हो भने त्यसमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको छ।

यस्तै काँग्रेसको ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादीको ‘जानकी प्रदेश’ प्रस्ताव रहेको छ । एकीकृत समाजावदीको ‘जानकी प्रदेश’ नामलाई नेकपा एमालले समर्थन गरेको छ । त्यस्तै ‘मध्य मधेश प्रदेश’ नामको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् ।

प्रदेशसभामा हाल ६ वटा दल र एक स्वतन्त्र सांसद गरी १०४ जना प्रदेश सांसदहरु छन्। सत्तारूढ जसपाका ३९, सत्ता घटक कांग्रेसका १९, सत्ता घटक एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ प्रदेश सांसद छन्।

यस्तै, प्रमुख प्रतिपक्षी लोसपाका १६ र प्रतिपक्षी एमालेका ८ र नेपाल संघीय समाजवादीका १ सांसद छन्। दुई तिहाइका लागि ७० जना सांसदको मत चाहिन्छ।

तर, यी मध्ये राजधानीका लागि सबै दल एकमत भएपनि नामको लागि कुनैपनि प्रस्तावको लागि दुई तिहाइ बहुमत कसैसँग छैन। तर, रौतहट, बारा र पर्साका सबै दलका केही सांसदहरु राजधानी वीरगञ्ज हुनुपर्नेमा आन्तरिक तथा बाहिरी अभ्यासमा देखिएका छन् । यधपी दुई तिहाइले जनकपुरधाम राजधानी पास हुने सांसदहरुको दावी छ ।

मधेश प्रदेश नाम हुनुपर्ने पक्षमा तीन दल जसपा, लोसपा र माओवादी केन्द्र छन्। जसमा एक नेपाल संघीय समाजवादी पार्टी पनि सो प्रस्तावमा मत दिने देखिन्छ। उनीहरुको सबै संख्या जोड्दा ६४ मत पुग्छ। तर ६ मत अझै अपुग छ। मधेश प्रदेश नाममा अन्य दलका सांसदहरुको पनि झुकाव रहेकाले गोप्य मतदानमा तिनीहरु मतदान गर्न सक्ने सम्भाना रहेको प्रमुख सत्तारुढ दल जसपाको तर्क छ । अहिले पनि मधेश प्रदेश नाममा समर्थन गर्न दलहरुसंग आन्तरिक गृहकार्य गरिरहेको मन्त्री साहले बताए ।

यसअघि गत २०७६ चैत ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेशसभामा मतदान भएको थियो। तर दुई तिहाई कुनै पनि प्रस्तावमा संख्या नपुग्दा फेल भएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *