प्रदेश २ : आफैले बनाएको कानुनको धज्जी उडाउँदै प्रदेश सांसद, पोडियममै उठाए फोन
टुडेपाटी-
जनकपुरधाम, माघ २ गते ।
ऐन तथा नीति नियम निर्माण हुने प्रदेशसभा सचिवालय अत्यन्त संवेदनशील स्थल मानिन्छ । जसको लागि न्युनतम आचारसंहिता पालना गर्न नीति निर्माण एवं सांसदहरुका लागि प्रदेश नम्बर २ प्रदेश सभाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ जारी गरेको छ।
यो नियमावलीको दफा १९ मा प्रदेशसभा सदस्यहरुले बैठकमा ११ वटा नियमहरूको पालना गर्नुपर्ने उल्लेख छ। जसमा दफा १९ को (झ) मा बैठक कक्षमा मोबाइल फोन र अन्य हलुका विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ ।
तर, आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार यादवले पोडियममा बोलिरहेको बेला रोकिएर मोबाइल फोन नै उठाएर कुरा गरेका छन्।
नाम र स्थायी राजधानीको विषयमा आफ्ना धारणा राख्ने क्रममा उनको फोन आएको थियो। उनले बीचमै फोन उठाए। फोन उठाएर उनले ‘ए भाइ’ भन्दै फेरि फोन काटेका थिए।
उनले फोन काट्नेबित्तिकै सबै सांसदहरू खित्का छाड्दै हाँस्न थाले। त्यसपछि सांसद यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरूलाई नहाँस्न आग्रह गरे।
Sponsored
प्रदेश २ सभा बैठक स्थलमा सांसदहरुले पटक पटक आचारसंहिता उलंघन गर्ने गरेका छन् ।