प्रदेशको राजधानी जनकपुरधाम बनाउन व्यापारीको दबाब
टुडेपाटी-
जनकपुरधाम, माघ २ गते ।
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनाउन व्यवसायीहरूले दबाब दिएका छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै जनकपुरधामलाई राजधानी घोषणा गर्न माग गरेका हुन् ।
स्थायी राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देश र देशबाहिरका लगानीकर्ताहरू अन्यत्र जान थाल्दा प्रदेशको आर्थिक विकासमा असर परिरहेकाले राजधानी तोकेर छिटो निकास दिनु जरुरी रहेको ज्ञापनमा उल्लेख गरिएको छ ।
प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, प्रदेशको जनताको पहुँचसमेतको दृष्टिले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिनेतर्फ कदम चाल्न ज्ञापनमा आग्रह गरिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले ज्ञापन पत्र बुझ्दै नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताए । संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय हुने उनले बताए ।
Sponsored
यता संघका महासचिव मनोजकुमार साहले जनकपुरधामलाई राजधानी नतोक्न षडयन्त्र भइरहेकाले ज्ञापन बुझाएको बताए ।
उनले सबै राजनीतिक दलको संसदीय दलका नेतासमेतलाई ज्ञापन बुझाइने बताए ।
आज बसेको प्रदेश सभा बैठकमा संसदीय समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ भने २ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो ।