रेल्वेको तालिम लिइरहेका कर्मचारीलाई हटाउन सिडिओलाई पूर्व कर्मचारीको ज्ञापन
टुडेपाटी–
जनकपुरधाम, पुस २९ गते ।
नेपाल रेल्वे कम्पनीले नयाँ कर्मचारीलाई दिइरहेको तालिमलाई रोक्न पूर्व कर्मचारीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहिवार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै पुराना रेल्वे कर्मचारी संघर्ष समितिले नयाँ कर्मचारीको तालिम स्थगित गरी सात दिनभित्र उनीहरुलाई नहटाइए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
प्रजिअ पौडेलले ज्ञापन पत्र बुझ्दै पूर्व कर्मचारीलाई अदालत र श्रम कार्यालयमा न्यायका लागि गुहार गर्न आग्रह गरे । उनले संविधानले दिएको अधिकारलाई प्रयोग गरि आन्दोलन गरेमा प्रहरी प्रशासनले अवरोध नगर्ने समेत बताए ।
रेल्वेका पुराना कर्मचारीहरुले बुधबार तालिम स्थलमा विरोध प्रदर्शन गरेका थिए । आफूहरुलाई बिनाजानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुरानाहरू आन्दोलित भएका छन् ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई हटाएर आफ्ना नजिकका नयाँ ५५ जनालाई नियुक्त गरी जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।
रेल्वेले गेट म्यान, ग्यांग म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि ५५ जनालाई भारतबाट आएका प्रशिक्षकले तालिम दिईरहेको छ ।
Sponsored