सार्वजनिक स्थानहरु प्रवेश गर्न भ्याक्सिन कार्ड चाहिने, २५ भन्दा बढी व्यक्ति भेला हुन नपाउने
टुडेपाटी–
काठमाडौं, पुस २६ गते ।
कोरोना संक्रमण बढेसँगै गृह मन्त्रालयले सार्वजनिक स्थानहरुमा प्रवेश गर्न भ्याक्सिन कार्ड लागु गरेको छ ।
सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने गृहले भनेको छ । कार्ड साथमा नभए मोबाइलमा फोटो भएपनि त्यसलाई साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन भनेको छ । मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनेको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेपछि गृहले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो ।
‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Sponsored
जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाई गर्न समेत सक्ने समेत गृह मन्त्रालयको निर्देशनमा उल्लेख छ ।