भारतमा ९ मिनेट बत्ती बन्द गरेर दीप प्रज्वलन
एजेन्सी-
नयाँदिल्ली, चैत २३ गते ।
भारतमा आइतबार राति ९ बजे ९ मिनेट बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेर सार्वसाधारणले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानप्रति ऐक्यवद्धता जनाएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि बत्ती निभाएर दिप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए ।
मोदीको सोही अपिलप्रति समर्थन जनाउँदै आज भारतभर ९ बजे ९ मिनेट बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको हो ।
प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताएका थिए ।
Sponsored
प्रधानमन्त्री माेदीले समेत दिल्लीस्थित आफ्नाे निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिएका छन् ।
भारतमा यतिबेला २१ दिन लामो लकडाउन चलिरहेको छ। आज लकडाउनको १२ औँ दिन हो ।
कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ९९ जनाको ज्यान गएको छ भने ३५ सय भन्दा बढीमा संक्रमण देखिएको छ ।