राष्ट्रियसभा सदस्य पदमा लोसपाका एक उम्मेदवार उम्मेदवारीबाट बञ्चित
टुडेपाटी–
जनकपुरधाम, पुस २० गते ।
राष्ट्रियसभा सदस्यको पदमा प्रदेश २ मा एकजना उम्मेदवारी दिनबाट बञ्चित भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारीका लागि अन्य समूहबाट प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेका श्यामसुन्दर सरदारले उम्मेदवारीबाट बञ्चित भएका हुन् ।
प्रदेश २ को निर्वाचन अधिकृत पुष्पा झाले सरदार उम्मेदवारी दर्ता गराउन पुगेपनि आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सुचिमा उनको नाम रहेकाले उनी उम्मेदवार बन्न नसकेको जानकारी दिइन् ।
सप्तरीको कंचनरुपका सरदार प्रदेश २ सरकारले गठन गरेको दलित विकास समितिका सदस्य समेत हुन् । यसका साथै उनी समितिबाट आर्थिक लाभ लिइरहेका छन् ।
आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदबारी दिन नपाउने व्यवस्था रहेकाले उनी बञ्चित भएका हुन् ।
सरदार उम्मेदवारीबाट बञ्चित भएपछि प्रदेश २मा राष्ट्रियसभाको २ पदका लागि ४ दलबाट ५ जनाको उम्मेदवारी परेको हो । त्यस्तै लोसपाको तर्फबाट महिला कोटामा रुपा यादवको उम्मेदवारी मात्रै पर्न सकेको हो ।
Sponsored