TodayPati

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ सहित सात वटै प्रदेशमा मनोनयन दर्ता हुँदै

टुडेपाटी-
जनकपुरधाम, पुस २० गते ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज दलहरुले मनोनयन दर्ता गर्दैछन्।

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरेर आगामी फागुन २० गतेबाट बिदा हुँदैछन्। रिक्त हुने २० मध्ये १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।

Sponsored

राष्ट्रिय सभाको रिक्त १९ सिटमा सत्तारुढ गठबन्धनले सहकार्य गर्ने निर्णय गरिसकेका छन्। निर्वाचनमा सत्तारुढ पाँच दल र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि लागि निर्वाचन हुन लागेको हो। 

एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार–चार, कांग्रेसका तीन र मनोनीत एक सांसदको खाली हुने सिटमा निर्वाचन हुने छ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने ८ सिटमा भागबन्डा गर्ने निर्णय सोमबार गरेका छन्। यसले एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन हुने अवस्था सिर्जना भएको छ। 

Sponsored

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त हुन लागेको हो त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिन अन्य दलले सहयोग गर्ने सहमति गरेको छ। 

एमालेका ८ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिने सहमति पाँच दलबीच भएको छ।

प्रदेश २ मा दुई पदको लागि मनोनयन दर्ता हुँदैछ । जनकपुर स्थित राष्ट्रिय सभा निर्प्रवाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता हुने छ ।

प्रदेश २ मा गठबन्धनको तर्फबाट महिलातर्फ माओवादीकी उर्मिला अर्यालसँग एमालेकी विना साहले प्रतिस्पर्धा गर्नेछिन्। एमालेबाट खुलातर्फ धनुषाका असर्फी भिनवार यादव उम्मेदवार बनेका छन् भने गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीले उम्मेदवार तय गर्न बाँकी छ। 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *